१५ चैत २०८०, बिहिबार

युक्रेनी सीमाबाट फर्किन थाले रुसी सैनिक

  • ४ फागुन २०७८, बुधबार
Image
क्रामियास्थित राजमार्गमा देखिएको रुसी सेनाका बख्तरबन्द गाडीको लस्कर । तस्बिर : एपी

लन्डन - रुसले युक्रेनी सीमामा खटाइएका केही सैनिक फिर्ता गरेको घोषणा गरेको छ। रुसी रक्षा मन्त्रालयले मंगलबार ठूलो संख्यामा सैनिकहरूले अभ्यास भने गरिरहेको जनाएको छ। सेनाको केही इकाइ मात्रै आफ्नो बेसक्याम्पमा फर्किएको उसको भनाइ छ।

‘केही संख्यामा कम्ब्याट ट्रेनिङ भने अझै जारी छ। यो यसअघिको योजनाअनुसार नै हुनेछ,’ रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले भनेका छन्, ‘केही सैनिक भने आफ्नो बेसक्याम्पमा फर्किएका छन्।’ हाल रुस र बेलारुसको संयुक्त सेनाले सैन्य अभ्यास गरिरहेको छ। यो आगामी फेब्रुअरी २० सम्म चल्ने बताइएको छ।

रुसले सीमा क्षेत्रबाट सेना फिर्ता गर्न थालेको सम्बन्धमा हालसम्म स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले लेखेको छ। तर उक्त कदमलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रले चासो भने प्रकट गरेका छन्। रुसले गत नोभेम्बरदेखि युक्रेनी सीमा क्षेत्रमा एक लाखभन्दा बढीको संख्यामा सैनिक तैनाथ गरेको छ। तर सैनिक तैनाथी युद्धको तयारी भने नभएको रुसले बताउँदै आएको छ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सैनिक फिर्ता भएको देखेपछि मात्रै विश्वास गर्ने प्रतिक्रिया दिएका छन्। ‘रुसलाई युद्धतर्फ अघि बढ्न रोक्नका लागि हामी हाम्रा सहयात्रीहरूसँगको सहकार्यबाट सफल बन्नेछौं,’ उनले भनेका छन्। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखरोवाले पश्चिमाहरूले गरिरहेको युद्ध प्रचारको नीति विफल हुने बताएकी छन्। ‘त्यो दिन इतिहासमा लेखिनेछ, जुन दिनमा पश्चिमाहरूको युद्ध प्रचार नीति विफल हुनेछ। एउटा गोली पनि नचलाई उनीहरूको प्रयास नामेट हुनेछ,’ उनले भनेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर