१५ चैत २०८०, बिहिबार

परमाणु हतियारसहित उच्‍च सतर्कताको अवस्थामा रहन सेनालाई पुटिनको आदेश

  • १६ फागुन २०७८, सोमबार
Image

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशको सेनालाई परमाणु हतियार उच्च सतर्कतासहित विशेष तयारी अवस्थामा राख्न आदेश दिएका छन्।

युक्रेनमाथि गएको बिहीबारदेखि रुसले आक्रमण गर्दै आएको छ। युक्रेनमाथिको आक्रमणलाई थप गम्भीर दिशा तर्फ लैजाने शंकेत गर्दै पुटिनले परमाणु हतियार प्रयोग गर्न सक्ने जनाएका हुन्।

विश्वव्यापी रुपमा युक्रेनमाथि भइरहेको आक्रमणलाई लिएर रुसको निन्दा हुनु तथा पश्चिमा राष्ट्रहरुको आक्रमक वक्तव्य र प्रतिबन्धका कारण परमाणु हतियार तयारी अवस्थामा राख्नु परेको पुटिनले आफ्ना सुरक्षा प्रमुखलाई बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तयारी अवस्थामा राख्न भने पनि परमाणु हतियार रुसले प्रयोग गरिहाल्छ भन्ने छैन। अमेरिकाले रुसी निर्णयको तत्काल आलोचना गरेको छ। रुसले स्वीकार गर्न नसकिने गरी युद्धको मार्ग रोजेको अमेरिकी भनाइ छ।

गएको हप्ता पुटिनले युक्रेनमा आफूहरुलाई हानी गर्न आउने जो कोहीले गम्भीर मूल्य चुकाउनु पर्ने र त्यो उनीहरुले इतिहासमा भोगेको भन्दा भयानक हुने चेतावनी दिएका थिए।

त्यसलाई परमाणु हतियार प्रयोग गर्ने चेतावनीका रुपमा लिइएको थियो र अहिले पुटिनले आफ्नो सैनिकलाई परमाणु हतियार तयारी अवस्थामा राख्न आदेश दिएका हुन्।

पुटिनले परमाणु हतियार तयारी अवस्थामा राख्न आदेश दिए लगत्तै युरोपियन युनियनले नयाँ चरणको प्रतिबन्ध तथा जवाफी रणनीति घोषणा गरेको छ।

युरोपियन युनियनले युक्रेनलाई हतियारका लागि आर्थिक सहयोग गर्ने, युरोपियन हवाइ क्षेत्रमा रुसी विमानमाथि पूर्ण प्रतिबन्ध तथा रुसका सरकारी सञ्चारमाध्यम स्पुट्निक र रसिया टुडेलाई युरोपियन युनियनमा प्रतिबन्धसहितका नयाँ नियम घोषणा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर