काठमाडौं- नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईकालागि सरकारको ध्यानाकर्षण गराएको छ। उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्व त्यहाँको अदालतमा मुद्दा चलेको छ।
महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी र केन्द्रीय सदस्य प्रकाश धौलाकोटी सम्मिलित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइको लागि नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेका हुन्।
महासंघले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत पत्रकार पाण्डेले सामाजिक सञ्जालमा आफूविरुद्व लेखेकै आधारमा पक्राउ गरी मुद्दा चलाइएको भन्दै त्यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भनेको छ। महासंघका अध्यक्ष पोखरेलले नेपालमा रहँदा लेखेको स्टाटसका आधारमा पत्रकार पाण्डेमाथि दुववइको कानुनबमोजिम दूतावासले कारवाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरे।
महासंघका महासचिव पुरीले नेपाली पत्रकार पाण्डेविरुद्व युएईस्थित नेपाली दुतावासले नै मुद्दा लगाउनु आपत्तिजनक भएको बताए। जवाफमा मन्त्री खड्काले पत्रकार पाण्डेको अवस्थाबारे बुझेर दूतावासमार्फत् उनको रिहाइका लागि पहल गर्ने बताए। पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ अर्थात पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको भन्ने आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाएको थियो। हाल पाण्डे युएई जेलमा छन्।
उनीविरुद्व दुबई अदालतले मंगलबारमात्रै तीन महिना कैद र करिब आठ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ।
उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिनेछ। पाण्डेले जरिवानाबापत २० हजार दिराम अर्थात सात लाख ९९ हजार चार सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation