१६ चैत २०८०, शुक्रबार

एमसीसीले विवाद सिर्जना गरेपछि माओवादीले बोलायो केन्द्रीय समिति बैठक

  • २० फागुन २०७८, शुक्रबार
Image

काठमाडौं- एमसीसी अनुमोदनसँगै पार्टीभित्र उत्पन्न विवादका बीच माओवादीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै छ। आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समिति बैठक बस्न थालेको हो। 

पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पुनः बस्न थालेको हो। शुक्रबार दिउँसो ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको बैठकले संगठन र आगामी कार्यभारका विषयमा छलफल गर्नेछ।

पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार बैठकमा मुख्यतः पार्टी पदाधिकारी र निर्वाचनलगायत अन्य भावी कार्यभार तय गर्ने विषयमा छलफल हुनेछ। ‘महाधिवेशन सकेपछि बसेको पहिलो केन्द्रीय समिति बैठक पुनः बस्ने गरी स्थगित भए पनि कोरोना महामारी र राजनीतिक परिस्थितिका कारण बस्न सकेको थिएन। त्यसैको निरन्तरता बैठक बस्दै छ,’ उनले भने, ‘त्यसैले पहिला नै तय एजेन्डामा छलफल हुनेछ। विशेष गरी पार्टी पदाधिकारी र भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ।’ उनले पार्टी नेतृत्वले गृहकार्य गरेको हुँदा थप विषयमा पनि छलफल हुन सक्ने बताए। वैशाखमा स्थानीय तहको निर्वाचन हुन थालेकाले बैठकले चुनावी कार्ययोजना पनि बनाउनेछ। 

गत ११ पुसदेखि सुरु भएर झन्डै एक हप्तापछि सम्पन्न माओवादीको आठौँ महाधिवेशनमा पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति मात्रै घोषणा गरेर सकिएको थिए। त्यसपछि लगत्तै १९ पुसमा बसेको केन्द्रीय समितिले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको थियो।

त्यसबाहेक अन्य पदाधिकारीका विषयमा सहमति नजुटेपछि पटक–पटक तय भएका बैठक स्थगित हुँदै आएका छन्। माओवादीले यसै बैठकलाई निरन्तरता दिन ८ र ९ माघमा मिति तय गरे पनि पछि स्थगित गरेर २८ माघका लागि तय भएको थियो। सोही वेला पनि कोरोना कारण देखाउँदै स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो।

माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सातजना उपाध्यक्ष, एकजना महासचिव, दुईजना उपमहासचिव, तीनजना सचिव र एकजना कोषाध्यक्ष रहने प्रावधान छ। पार्टीमा शक्तिशाली मानिने महासचिव को बन्ने भन्नेमा नेताहरूको दौडधुप चलिरहेको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर