काठमाडौं- साउदी अरबबाट १२ वर्षपछि उच्चस्तरी भ्रमण हुन लागेको छ। साउदी विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार नेपाल आउँदैछन्। फैजल त्यहाँका राजकुमार पनि हुन्।
१२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।
महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो। उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो।
साउदीबाट उच्चस्तरीय भ्रमण नभए पनि नेपालबाट भने विगतमा साउदीमा त्यस्ता भ्रमण भएका थिए। सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए।
परराष्ट्र मन्त्रालयले साउदीका विदेशमन्त्री औपचारिक भ्रमणमा नेपाल आउन लागेको जनाएको छ। साउदीका विदेशमन्त्रीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भिन्दाभिन्दै भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्काले साउदी विदेशमन्त्रीलाई दिवाभोज दिने भएका छन्।
साउदीका विदेशमन्त्री २४ घण्टा नेपालमा रहनेछन्। उनको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहनेछन्। दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा उनी नेपाल आउन लागेको बताइएको छ। उनी आइतबार श्रीलंका आइपुगेका छन्।
श्रीलंकाको राजधानी कोलम्बोबाट साउदी विदेशमन्त्री फैजल सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्। फैजललाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ।
हाल टर्की भ्रमणमा रहेका परराष्ट्रमन्त्री खड्का साउदीका विदेशमन्त्रीको भ्रमणकै लागि सोमबार बिहान स्वदेश फर्किंदैछन्।
साउदी विदेशमन्त्रीको भ्रमणमा नेपाल र साउदी सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको छ। मन्त्रिपरिषद् बैठकले गतसाता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गरेको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्ने बताइएको छ।
साउदी फन्ड फर डेभलपमेन्टका उपाध्यक्ष खालिद बिन सुलेमानको सन् २०१९ मा भएको नेपाल भ्रमणमा साउदीले नेपाललाई ३.३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो।
तर, यसपटक ऋण नलिने सरकारको भनाइ छ। ‘साउदी फन्डअन्तर्गतको पैसाको ब्याजदर चर्को हुने हुँदा हामीले ऋण नलिने सोचाइ बनाएका हौँ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने।
सन् २०१४ मा साउदी फन्डबाट नेपालले २.८५ अर्ब रुपैयाँ ऋण लिएको थियो। उक्त रकम अछामस्थित बुढीगंगा जलविद्युत् परियोजना निर्माणमा खर्च भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation