७ वैशाख २०८१, शुक्रबार

चीनको विमान दुर्घटनामा परेका १३२ जना अझै भेटिएनन्, खोजी तीव्र

  • ९ चैत २०७८, बुधबार
Image

बेइजिङ - दक्षिणी चीनमा दुर्घटनामा परेको विमानका यात्रु र चालकदलका सदस्यको खोजीमा उद्धारकर्ताहरू जुटिरहँदा उनीहरूका परिवार सूचनाको व्यग्र प्रतीक्षामा नजिकैको विमानस्थलमा जम्मा भएर बसेका छन्।

चालकदलका सदस्यसहित १३२ जना सवार चाइना ईस्टर्नको उडान नम्बर एमयू ५७३५को विमान ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाले चीनभरि मानिसहरू शोकमग्न छन्। राष्ट्रपति सी जिन्पिङले घटनाको पूर्ण छानबिन गर्न आदेश दिएका छन्।

दुर्घटनामा परेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको भन्दै उद्धारकर्ताहरू चिन्तित देखिएका छन्। तर मंगलवार अबेरसम्म कति जना हताहत भए भन्‍ने विवरण सार्वजनिक भएको छैन।

घटनास्थलमा सयौँको सङ्ख्यामा उद्धारकर्ताहरू परिचालन भएका छन्। हालसम्म कोही पनि नभेटिएको जनाइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले विकट पहाडी भूभागबाट विमानका भग्नावशेषहरू संकलन भइरहेको र अझै खोजी जारी रहेको उल्लेख गरेका छन्। खोजीमा जुटेकाहरूले मानिसहरूका झोला, पर्स र परिचयपत्रका अवशेषहरू संकलन गरेका छन्।

घटनास्थलबाट प्राप्त विवरणहरूअनुसार विमान दुर्घटना भएको ठाउँमा जंगलमा आगो लागेका कारण जलेका रूखहरू स्पष्ट देखिन्छन्।

यसैबीच विमानमा सवार मानिसहरूका परिवार र साथीहरू ग्वाङ्जाऊ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्। कुङमिङबाट उडेको चाइना ईस्टर्न एअरलाइन्सको उक्त विमान सोमवार अपरान्ह उक्त विमानस्थलमा आइपुग्नुअघि दुर्घटनामा परेको थियो।

अधिकारीहरूले विमानमा सवार यात्रु र चालकदलका सदस्यहरूको अझै पहिचान गर्न सकेका छैनन्। ग्वाङ्जाऊमा एउटा अन्तिम संस्कारमा सहभागी हुन आउन लागेका जनाको समूह पनि सोही विमानमा चढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिँदै एक महिलाले दुर्घटनामा परेको उक्त समूहमा आफ्नी बहिनी र नजिकका साथी रहेको बताएकी छन्। उनले आफूले पनि त्यही विमानमा टिकट लिए पनि पछि परिवर्तन गरेर त्यसअघिको उडानमा आएको बताएकी छन्।

'मलाई खल्लो महसुस भएको छ,' उनले जियमिन न्यूजसँग भनेकी छिन्।

ग्वाङ्जाऊ विमानस्थलमा चिन्तित परिवारहरू प्रतीक्षारत रहेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर