१५ चैत २०८०, बिहिबार

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल हुने

  • २१ चैत २०७८, सोमबार
Image

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तालमेल गर्ने सहमति नजिक पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच तीन चरणमा भएको वार्तापछि तालमेल हुने करिब पक्का भएको हो। तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएका छन्।

एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठ तोकिएका छन्। राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले दुई पार्टीबीच गठबन्धनको करिब सहमति जुटिसकेको बताए।

तालमेल गर्न सकिने स्थानीय तहबारे टुंगो गर्न दुई जनाको टोली बनेको उनले जानकारी दिए। राप्रपा नेपालले आगामी २४ गतेसम्म आफूले उम्मेदवारी दिन सक्ने पालिकाको दाबी एमालेसमक्ष राख्ने तयारी भएको पनि श्रेष्ठले बताए। श्रेष्ठले २०७४ को स्थानीय निर्वाचनमा जितेका स्थानीय तह सकेसम्म आफूहरूले नछाड्ने पनि बताए। 

श्रेष्ठले कांग्रेस, माओवादी र अन्य दलले जितेका स्थानीय तहमा दुई दलले समझदारी गरेर साझा उम्मेदवार उठाउने जानकारी दिए। नेकपा एमालेका नेता देवेन्द्र दाहालले पनि स्थानीय निर्वाचनमा तालमेलका लागि राप्रपाका दुवै समूहसँग वार्ता भइरहेको बताए।

संवादमै रहेकाले सबै कुरा मिल्न बाँकी रहेको उनले जानकारी दिए। एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर जबराबीच पनि चुनाबी तालमेलबारे केही दिन पहिले नेपालगञ्जमा छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर