१६ चैत २०८०, शुक्रबार

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेट

  • २९ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानडाका गैरआवाशीय राजदूत क्यामेरोन डिन म्याक्येले शिष्टाचार भेट गरेका  छन्। मन्त्रालयमा आज भएको भेटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा उद्योगमन्त्री बडुले क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड-१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिए । यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

मन्त्री बडूले नेपालको विकास प्राथमिकताअनुरुप विगतमा झै क्यानडा सरकारले आगामी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले व्यापार सहजिकरण तथा कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र मानव संसाधन विकासका क्षेत्रमा नेपालमा लगानी बढाउन अनुरोध गरेका छन्।

छलफलमा राजदूत म्याकेले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी बृद्धि गर्न सकिने बताए। क्यानडा सरकार तथा अन्य लगानीकर्ताहरुमार्फत थप लगानी बृद्धि गर्न तयार रहेको बताउँदै उनले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतीमार्फत लगानीकर्तामा विश्वास सृजना गर्नुपर्नेमा जोड दिए।

राजदूत म्याकेले आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर