१६ चैत २०८०, शुक्रबार

सुदूरपश्चिममा अहिलेसम्म एमाले र कांग्रेसले जिते दुई/दुई गाउँपालिका

  • १ जेठ २०७९, आइतबार
Image

धनगढी । सुदूरपश्चिममा मतगणना सम्पन्न भएका चार स्थानीय तहमा दुई  ठाउँमा एमाले र दुई ठाउँमा कांग्रेसले जीत निकालेका छन्।

बझाङमा एमालेले २ र कांग्रेसले डडेल्धुरा र डाेटीमा गरी २ ठाउँमा जीत निकालेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी भएका हुन्।

कार्कीले ३१८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले १७०३ मत पाए।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानु सेठीले ३०१३ मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले १७०३ मत प्राप्त गरे।

यस्तै, डाेटीकाे बडीकेदार गाउँपालिकाको अध्यक्षमा पनि नेपाली कांग्रेसका भैरवबहादुर साउँदले जितेका छन्।

साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जीत हासिल गरेका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १६८४ मत पाएका हुन्।

उपाध्यक्षमा कांग्रेसकी डम्मरीकुमारी विष्टले २४०७ मत ल्याएर विजयी भइन्। एमालेकी सपना सिराडीले २२७६ मत पाएर पराजित भइन्।

यस्तै, बझाङका दुई स्थानीय तहमा एमालेले जित निकालेकाे छ।

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्। उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

रोकायाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरे। उपप्रमुखमा गठबन्धनका राम खाती ३१५० मत ल्याएर विजयी भएका छन्। 

उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत ल्याइन्। त्यस्तै, थलारा गाउँपालिका–५ मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय भएका छन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३१३ मत ल्याए।  

यस्तै, जिल्लाकाे साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन्।

गठबन्धनका उम्मेदारले उज्वल बोहराले ६ सय १३ मत ल्याएर पराजित भएका छन्।

गाउँपालिका उपाध्यक्षतर्फ नेकपा एमालेका डोल्मा तामाङले ६७५ मतसहित विजयी भएका छन् उनका प्रतिस्पर्धीबाट बोहरा ६१९ मतसहित पराजित भएका छन्।

अन्य स्थानीय तहमा मतगणना जारी छ। अन्तिम मतपरिणाम आएकाे छैन।

प्रतिक्रिया

सम्बन्धित खवर