१७ वैशाख २०८१, सोमबार

सत्ता गठबन्धनलाई हराउँदै चितवनको कालिकाको मेयर जित्यो एमालेले

  • ४ जेठ २०७९, बुधबार
Image

चितवन । चितवनको कालिका नगरपालिकाको मेयर नेकपा एमालेका उम्मेदवार विनोद रेग्मी निर्वाचित भएका छन्।

रेग्मीले कांग्रेसका शिवराम केसीलाई पराजित गरेका हुन्। केसी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए।

कालिकामा रेग्मीले १०७१४ भोट ल्याउँदा केसीले १०५७१ मात्रै भोट ल्याउन सके। रेग्मी करिब २५ वर्षदेखि हालको कालिका नगरपालिका क्षेत्रभित्र रहेर राजनीतिमा सकृय रहँदै आएका थिए। उनी गत निर्वाचनमा वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

सोक्रममा उनले कालिका नगरपालिकामा कार्यबाहक मेयर भएर पनि काम गरे। वडाध्यक्ष हुँदा स्थानीय तहको काम गर्ने तरिका र शैलीका बारेमा अनुभव हासिल गरेको भन्दै रेग्मीले त्यो अनुभवलाई अव विकासमा लगाउने बताएका छन्।

२०२८ सालमा गोरखाको घ्याल्चोकमा जन्मिएर २०४३ सालमा चितवन आएका रेग्मीको बसोबास साबिक जुटपानी गाविस ५ जमुनापुरमा छ। रेग्मी २०४७ सालमा पञ्चकन्या मावि अध्ययन गर्ने क्रममा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएका थिए।

२०५० सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको चितवन जिल्ला सदस्य भएका उनी तत्कालिन अवस्थामा स्थापना भएको पिपुल्स भोलेन्टियरको चितवन अध्यक्षसमेत भए। नेकपा एमाले जिल्ला कमिटी चितवनमा उनले २०५७ सालदेखि लगातार छैटौं कार्यकालसम्म जिल्ला सदस्य भएर काम गरेका छन्।

जिल्ला वन समन्वय समिति, गैर सरकारी संस्था, सहकारी लगायत क्षेत्रमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै उनले जिम्मेवारी लिएका छन्।

२०७२ सालमा साबिकको पदमपुर, जुटपानी, सिद्धी, शक्तिखोर गाविस समावेश गरी कालिका नगरपालिका स्थापना गर्ने क्रममा रेग्मीको महत्त्वपूर्ण भूमिका रहेको छ।

रेग्मीले अघिल्लो निर्वाचनमै मेयरमा उठ्ने इच्छा राखेका थिए। तर आफूभन्दा वरिष्ठ नेता खुमनारायण श्रेष्ठले रहर गरेपछि छाडेर उनी वडाध्यक्षमा उठे। उनी वडाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए।

उनले कालिका नगरपालिकाको दिगो विकासको लागि गुरुयोजना निर्माण गरी काम गर्ने बताएका छन्। राप्ती नगरपालिकाको उपमेयरमा एमालेकै विमला लामा विजयी भइन्। उनले गठबन्धनकी सविता लामालाई पराजित गरेकी हुन्। विमलाले १०४४० र सविताले ९६७८ भोट ल्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर