१६ चैत २०८०, शुक्रबार

सिसडोलबासीहरु स्वच्छ वातावरणमा बस्ने, बाँच्न पाउने अधिकार पूरा नभएसम्म अन्य कुराहरु हुँदैन् : कामनपा का नवनिर्वाचित मेयर बालेन्द्र

  • १६ जेठ २०७९, सोमबार
Image

लोक कलम सम्वाददाता,

 काठमाडौँ, १६ जेठ । 

काठमाडौं महानगरपालिका(कामनपा)का नवनिर्वाचित मेयर बालेन्द्र साहले सोमबारको साइतमा पद तथा गोपनीयताको सपथलिएर पदभार ग्रहण गरेका छन् ।  सोमबार दिउँसो राष्ट्रियसभागृहमा आयोजित एक  कार्यक्रममा नेपाल भाषामा सपथ लिएका बालेन्द्रले लगत्तै काठमाडौं महानगरपालिका पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणका लागि उनी कार्यकक्षमा पुग्दा महानगरपालिकाको कार्यालयमा सञ्चारकर्मीको ठूलो भिड थियो।

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएर जितेका स्वतन्त्र उम्मेदवार शाहले पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे। लगत्तै, उपस्थित सञ्चारकर्मीले उनलाई केही प्रश्न गरे।

मेयरमा निर्वाचित हुनेबित्तिकै काठमाडौंको फोहोर ब्यवस्थापन गर्ने भन्दै सिसडोल पुगेका शाहलाई सञ्चारकर्मीले पनि त्यसतर्फ केन्द्रित भएर प्रश्न सोधेका थिए।

पदभार ग्रहणपछिको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र पत्रकारबीचको सवाल जवाफ–


सञ्चारकर्मी–  पदभार ग्रहण गर्नुअघि नै सिसडोल( फोहोर व्यवस्थापन गर्ने ठाउँ) पुग्नुभयो। त्यहाँ कसरी अघि बढाउने योजना गर्नुभएको छ ?

बालेन्द्र साह– फोहोर व्यवस्थापनको कुरा हामी योजनावद्ध रुपमा जानेवाला छौं। त्यो काम भइसकेपछि नै हामी जानकारी गराउनेछौं। फोहोर ब्यवस्थापनको काममा कुनै अन्तर्वार्ता नदिने, तर प्राथमिकतामा चाँहि राख्ने गर्नेछौं।

सञ्चारकर्मी– महानगर अहिले भाडाको घरमा छ, अब महानगरको आफ्नै घर कहिले हुन्छ?

बालेन्द्र साह– हजुरले मेरो कुरा कहिले बुझ्नुहुन्छ। यो सबै कुराहरु फोहोरको व्यवस्थापन नभई गर्दैनौं। किनभने, हामीले गरेको पापको भोगी सिसडोलबासीहरु भइराख्नुभएको छ। हाम्रो फोहोरको कारणले उहाँहरु क्यान्सर पीडित हुनुभएको छ । छालाको रोग भएको छ । त्यत्रो मान्छेहरु मरिराख्नुभएको छ। यो शोक मनाउनेबेला हो। सिसडोलबासीहरु स्वच्छ वातावरणमा बस्ने, स्वच्छ हावा लिने कुराहरु र बाँच्न पाउने अधिकार पूरा नभएसम्म अरु कुराहरु हुँदैन।


सञ्चारकर्मी– योभन्दा अघिका मेयरहरु पनि आउनुभयो, पाँच वर्ष यतिकै बित्यो, फोहोर ब्यवस्थापन भएन। तपाईंलाई समय चाँहि कति लाग्ला? महानगरको काम त यो मात्र छैन नि?


बालेन्द्र साह–  पत्रकारहरुले हाम्रो कुरा बुझ्न समय कति लाग्ला? त्यो चाँही भनिदिनु न । कति लाग्ला?

सञ्चारकर्मी– तपाईंको एउटा लिमिटेड टाइम त होला नि?

बालेन्द्र साह– सबै कुराको प्रक्रिया हुन्छ। कुनै कुरा एक दिनमा होला, कुनै कुरा १० दिन पनि लाग्ला। कुनै १ वर्षमा होला। सबैको टेक्निकल कुराहरु हुन्छ, जुन साधारणरुपमा अहिले नै बुझाउन सकिँदैन।


प्रतिक्रिया

सम्बन्धित खवर