७ वैशाख २०८१, शुक्रबार

६ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ३ असार २०७९, शुक्रबार
Image

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी भिमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो।

२०७३ असोज २१ गते राजपत्रअनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउन १ गतेमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधिअघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आयआर्जन गरेको देखिन्छ ।

भण्डारीले सरकारी सेवामा रहँदा उक्त रकम गैरकानुनी रूपमा आर्जन गरेको दाबी अख्तियारको आरोपपत्रमा गरिएको छ। गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याबले सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन्।

उक्त कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको थियो। उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

विशेष, अदालतमा दायर गरिएको मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गरेको छ। उनीसँग रहेको ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ।

उनी असार २०७७ सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर