१६ चैत २०८०, शुक्रबार

बढ्न थाले कोरोना संक्रमित, अर्को लहरको आउने सम्भावना छ?

  • ८ असार २०७९, बुधबार
Image

काठमाडौं- पछिल्लो एक साताको तथ्यांकले नेपालमा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने व्यक्तिको सङ्ख्या थपिने क्रम बढेको देखाउँछ।

कोभिडबाट निको हुने व्यक्तिको सङ्ख्याभन्दा दैनिक नयाँ संक्रमित थपिनेको सङ्ख्या झन्डै दोबरले बढिरहेको पाइएको छ।

नयाँ संक्रमित थपिने क्रमसँगै कुल सक्रिय संक्रमितको सङ्ख्या पनि उकालो लागिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संकेतले देखाउँछ।

जेठ ३१ गते १२ जना नयाँ संक्रमित थपिएकोमा त्यसको सातौँ दिन २८ जना संक्रमित फेला परेको संकेत छ।

सामान्य लक्षण भएका सबै जनाले परीक्षण नगराउने भएकाले संक्रमितको सङ्ख्या अझ बढी हुन सक्ने देखिन्छ। केही दिनयता भारतमा पनि कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको त्यहाँको केन्द्रीय स्वस्थ्य मन्त्रालयको संकेतले देखाएको छ।

सङ्क्रमणको दर हेर्दा अघिल्ला साताको तुलनामा अहिले सङ्क्रमण बढ्न थालेको मन्त्रायलका प्रवक्ता डा. समिरकुमार अधिकारी पनि स्वीकार्छन्।

'बढ्यो अथवा एकदमै गाह्रो भयो भन्ने अवस्था त आइसकेको छैन। तर सङ्क्रमण एक दिन मात्रै नभई हप्ता दिन नै बढेकोले चनाखो हुनुपर्ने चाहिँ देखिन्छ,' उनले भने। 

गत एक साताको संकेतलाई सङ्क्रमण बढ्न लागेको सङ्केतको रूपमा लिन सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

'छिमेकी देशहरूमा पनि बढिरहेको छ। यहाँ पनि [सङ्क्रमण दर] माथि जान लागेको सङ्केतको रूपमा लिन सकिन्छ,' उनले भने। नेपालमा अहिलेसम्म कोभिडका कारण झन्डै १२,००० जनाको मृत्यु भएको पुषटि भएको छ।

कति र कस्ता व्यक्तिको परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित फेला पर्ने गरेका हुन् भन्ने कुराले सङ्क्रमणको प्रवृत्तिबारे भन्न सकिने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीको तर्क छ।

मानिसहरूको व्यवहारमा आएको परिवर्तन एउटा सम्भावित कारण रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारी पनि बताउँछन्। 'हाम्रो हेलचेक्र्याइँ बढ्न थालेको देखिन्छ। एउटै संक्रमितले पनि अरू धेरैलाई संक्रमित बनाउन सक्छ भन्ने सचेतना हामीकहाँ अलि कम भएको हो कि?'

पछिल्ला दिनमा नयाँ संक्रमित थपिँदै जानुमा जनस्वास्थ्यका मापदण्डको पालनामा लापरबाही हुनु प्रमुख कारण देखिएको जनस्वास्थ्यविज्ञले बताएका छन्। 'मास्क लगाउने, हात धुने, अलि परपर बस्ने गर्नुपर्थ्यो। तर मानिसहरूले ती काम बिस्तारै छोड्न थालेकाले पनि सङ्क्रमण बढ्न थालेको हुन सक्छ,' मरासिनीले भने।

कोभिड महामारीको अर्को लहर आउन सक्ने सम्भावनालाई नै नकार्न नसकिने विज्ञहरूको मत रहेको छ। 'धेरै ठूलो त नहोला किनभने नेपालमा कोभिड खोप लगाउनेहरूको सङ्ख्या धेरै छ। अहिले झन् पाँचदेखि ११ वर्षमुनिका बच्चालाई पनि लगाउन थालिएको छ,' मरासिनीले भने।

कतिपय देशमा फेला परिरहेका कोरोनाभाइरसका नयाँ भेरिअन्ट हेर्दा नेपालमा पनि समस्या निम्तिन सक्ने जोखिम पनि छ। 

प्रतिक्रिया

सम्बन्धित खवर