८ वैशाख २०८१, शनिबार

महोत्तरीमा अत्यधिक गर्मीका कारण बिरामीको सङ्ख्यामा वृद्धि

  • ३० असार २०७९, बिहिबार
Image

महोत्तरी - तराईमा यति बेला प्रचण्ड गर्मी छ । गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ । पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा  भने ३० प्रतिशत पनि सकिएको छैन । अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन् ।  

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखि बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।

जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा पछिल्लो ७ दिन यता ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा.प्रदीपकुमार साहले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा.साहको भनाइ छ ।

सरकारी अस्पताल मात्र हैन निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्। अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ ।

जिल्लाको बर्दिबास सर्प दंश उपचार केन्द्र गौरिडाडामा मात्र दुई जनाको मृत्यु भइसकेको छ भने जिल्लाका अन्य उपचार केन्द्रमा पनि सर्पले डसेका बिरामीको सङ्ख्या अधिक बन्दै गएको छ । गर्मीकै कारण लामखुट्टेको सङ्ख्यामा समेत वृद्धि भएको छ । जसको कारणले भाइरल ज्वरो, टाइफाइडका बिरामीहरू बढेको चिकित्सकहरूले बताए । 

अत्यधिक गर्मीले बच्चाहरूमा समेत समस्या बनेको छ । घमौरा आउने  र घाउ समेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जनले बताए ।  

महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस छ । अत्यधिक बढेको गर्मीले जनजीवनसमेत अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि बहने तातो हावा र चर्को घामले मजदुरहरू काममा जानसमेत छाडेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर