१६ चैत २०८०, शुक्रबार

गठबन्धनविरुद्ध भाषणबाजी गर्दै नहिँड्न कांग्रेस नेताहरूलाई गृहमन्त्री खाणको चेतावनी

  • २५ भदौ २०७९, शनिबार
Image

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै नहिँड्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसविरुद्ध भाषणबाजी गर्दै नहिँड्न चेतावनी दिएका हुन् ।

नेपाल तरुण दल, काभ्रेले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आबद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र  दायित्व दुवै भएको स्पष्ट पारे।

उनले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको बताए।

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर, गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन’, मन्त्री खाणले भने, ‘तपाई‌ंहरूले जे हो ? त्यही भनिदिनु पर्दछ। अहिले नेपाली कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आबद्ध छौँ । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो ।’  

प्रतिक्रिया

सम्बन्धित खवर