१६ चैत २०८०, शुक्रबार

बेलायत जान २७ हजार नर्सको आवेदन, अब ओईटी परीक्षा हुने

  • २८ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ। त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरेसँग २७ हजार नर्सले आवेदन दिएका छन्। नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ। तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन्। 

गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन्। उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन्। बेलायतमा सरकारले कामदार पठाउँदैन। उनीहरू सबै जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरू हुन्। 

नेपाल नर्सिङ काउन्सिको तथ्यांक अनुसार साउनसम्म २७ हजार ४७२ जनाले अनुमति लिएका छन्। वैदेशिक रोजगारीका लागि जान भन्दै उनीहरूले काउन्सिलबाट अनुमति लिएका हुन्।

२०७८ को वैशाखदेखि चैतसम्म मात्र ५ हजार ९३ जनाले गुड स्ट्याण्डिङ सर्टिफिकेट (जीएसआर) लिएका छन्। साउन मात्र १ हजार ७०४ जनाले जीएआर लिएको काउन्सिलको तथ्यांकले देखाएको छ। अनुमति लिएका सबै विदेश गएको हो वा होइन् भन्नेबारे काउन्सिललाई जानकारी छैन्। 

नेपालबाट प्रत्येक वर्ष ५०० भन्दा बढी नर्सहरू अमेरिका जाने गरेका छन्। अमेरिका जाने नर्सहरूको यतैबाट ‘पीआर’ फिक्स हुन्छ। यूके, क्यानडा तथा खाडी मुलुक जाने नर्सहरू नेपाल फर्किने आधार रहन्छ। भने अमेरिका गएकाहरूको नेपालबाटै पीआर फिक्स भएकाले फर्किन अवस्था रहँदैन। 

नेपालीहरूले बेलायतमा गर्दै आएको कामप्रति बेलायतका रोजगारदाता सन्तुष्ट देखिन्छन्। जसले गर्दा संस्थागत रूपमा नै कामदार लैजान बेलायत तयार भएको हो। अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संस्थागत रूपमा नै नर्सहरू पठाउने गरी तयारी थालिरहेको छ। 

बेलायतले डिप्लोमा, स्नातक र स्नातकोत्तर गरेका सबै खासका नर्सहरूलाई रोजगारीका लागि लगिरहेको छ। सामान्यता २ वर्षका लागि भिसा दिने गरेको छ। तर, बेलायत पुगेकाहरू नेपाल फर्किने सम्भावना एकदमै कम रहेको अध्यक्ष केसीले बताए। 

बेलायतमा रोजगारीका लागि जान सबैभन्दा पहिला नेपालको नर्सिङ काउन्सिलबाट उपलब्ध गराउने लाइसेन्स लिएको हुनुपर्छ। त्यसपछि व्यवसायिक अंग्रेजी परीक्षा (अक्कुपेसनल इङ्लिस टेष्ट– ओईटी) पास गर्नुपर्छ। त्यो पास भएपछि एजेन्सीले बेलायतमा रोजगारीका अवसरहरू खोजिदिन्छन्। ओईटीको लिस्निङमा ‘बी’, राईटिङमा ‘सी+’, रिडिङमा ‘बी’, स्पिकिङमा ‘बी’, ल्याउनुपर्छ। 

यो परीक्षा भौतिक उपस्थितिमै नेपालमा हुन्छ। त्यसका लागि सेन्टरमा जानुपर्छ। नेपालमा काठमाडौंको डिल्लीबजार र चितवन गरी दुई ठाउँमा सेन्टर छन्। त्यही गएर भौतिक उपस्थितिमा ओईटी परीक्षा दिनुपर्छ। यो पास गरिसकेपछि यूकेको नर्सिङ एण्ड मिडवाईफरी काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ। यसलाई सामान्य भाषामा कम्प्युटर बेस्ड टेष्ट (सीबीटी) भनिन्छ। त्यो पास भइसकेपछि इलिजिबल हुन्छन्। 

यूकेमा रहेका फेमिली तथा आफन्तले स्पोन्सर गरेर नेपालबाट बोलाउने गरेका छन्। विशेषगरी यूकेमा धेरै नेपालीहरू ब्रिटिस आर्मी भएकाले उनीहरू मार्फत नै जाने गरेको अध्यक्ष केसीको भनाई छ। 

प्रतिक्रिया

सम्बन्धित खवर