९ असार २०८१, शनिबार

काठमाडौं- ४ मा गगनले गर्लान्‌ त ह्याट्रिक?

  • २७ असोज २०७९, बिहिबार
Image

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं-४ बाट चुनाव लड्दैछन्। सुरुमा सर्लाही-४ मा जाने भनिए पनि अन्तत: काठमाडौं-४ मा नै चुनाव लड्‍ने निधो गरी  उम्मेदवारी दर्ता गराएका हुन्। 

२०७४ को निर्वाचनमा नेकपा एमालेका राजन भट्टराईलाई झिनो मतान्तरले पराजित गरेका गगन थापासँग यसपटक पनि भट्टराई नै मुख्य प्रतिस्पर्धी देखिएको छन्। कांग्रेस महामन्त्री थापा र एमाले विदेश विभाग प्रमुख भट्टराईको काठमाडौं–४ मा यो दोस्रो भेट हो। गगन काठमाडौं–४ बाटै फेरि ह्याट्रिक गर्ने गरी चुनावी मैदानमा छन्। 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला परराष्ट्र सल्लाहकार भएर काम गरेका भट्टराई ओलीका विश्वसापात्रमध्येमा पर्छन्। भट्टराई यस पटक जसरी पनि काठमाडौं–४ बाट जनअनुमोदित भएर संसद् प्रवेश गर्ने दाउमा छन्। 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा काठमाडौं- ४ मा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपा २ हजार २९३, नेकपा माओवादीको ८४४ र जसपाको ३१७ मत छ। अहिले काठमाडौं-४ मा क्रियाशील दलमध्ये कांग्रेस, माओवादी र नेकपा एसबीचमा एउटा गठबन्धन छ भने एमाले, राप्रपा र जसपाबीचमा अर्को गठबन्धन भएको छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनको मत १९ हजार २१ देखिन्छ। त्यस्तै, एमाले नेतृत्वमा रहेको गठबन्धनको मत १९ हजार ११७ मत छ। दुई गठबन्धनमध्ये एमाले नेतृत्वको गठबन्धनको ९६ मत बढी देखिन्छ। 

वडाध्यक्षको मतलाई मात्र आधार मान्ने हो भने काठमाडौं–४ को निर्वाचनमा दुई गठबन्धनका बीचमा रोचक भिडन्त हुने देखिन्छ। तर स्थानीय तह  निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई मात्र आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको मत विश्लेषण गर्न नहुने राजनीति विश्लेषक बताउँछन्। आमचुनावमा मतदाताले उम्मेदवारको प्रभावसमेत हेर्ने भएकाले लोकप्रिय मत जसले बढी ल्याउँछ, उसैले जित निकाल्ने विश्लेषकहरूको बुझाइ छ। 

काठमाडौं-४ मा गगन र भट्टराईबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै नाम फिर्ता लिएको बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर