९ असार २०८१, शनिबार

ओलीको अराजकताले एमाले छोड्ने बढ्दै

  • ३० असोज २०७९, आइतबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अराजकता र स्वेच्छाचारिता बढ्दै गएपछि नेकपा एमालेमा पनि पार्टी छोड्ने नेताहरुको संख्या बढ्दै गएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले शनिबार पार्टी परित्यागको घोषणा गरेका छन्। 

एमालेले जनता समाजवादी पार्टीसँग गरेको चुनावी गठबन्धनप्रति आपत्ति जनाउँदै न्यौपानेले पार्टी परित्याग गरेका हुन्। 

उनी एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज पनि थिए। चुरे भावर आन्दोलनका नेता न्यौपानेले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको संज्ञा दिँदै गठबन्धन विदेशी स्वार्थमा भएको बताएका छन्। 

'२०६२/६३ को मधेशवादी दलले गरेको साम्प्रदायिक ज्यादतिदेखि मधेशी पहाडीबीचको विभेदपूर्ण आन्दोलनलाई प्रतिकारको रुपमा राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रियता बचाउनको लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सम्पूर्ण मधेश प्रदेशमा साम्प्रदायिक आन्दोलनविरुद्ध आन्दोलन गरेको थियो', उनले भनेका छन्, 'त्यो आन्दोलनका क्रममा भावरवासी शहिद हुनुका साथै कयौँ घाइते भएका थिए। मधेशमा सदभाव कायम गर्न र पहाडीया समुदायलाई बचाउन ठूलो योगदान गरेको कुरा सबैमा जगजाहेर नै छ।'

उनले उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन गलत भएको बताएका छन्। 

गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको उनले घोषणा गरेका छन्। 

यसअघि जसपासँगको तालमेलको विरोध गर्दै प्रभु साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसअघि नेकपा एमालेका शीर्ष नेता घनश्याम भूसालले पनि पार्टी परित्याग गरेका थिए। त्यसअघि गंगा चौधरी, द्वारिकालाल चौधरी, गंगाराम यादवलगायतले पनि पार्टी परित्याग गरेका हुन्। 

लुम्बिनी प्रदेशमा ३१ र सुदूरपश्‍चिममा ५१ नेताहरुले एमाले परित्याग गरेको घोषणा गरेका छन्। एमालेमै रहेका नेता भीम रावलले पनि पार्टीका उम्मेदवारलाई हराउने रणनीति अंगालेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर