५ वैशाख २०८१, बुधबार

गुल्मी-२ मा पेचिलो बन्दै गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको प्रतिस्पर्धा

  • २५ कार्तिक २०७९, शुक्रबार
Image

गुल्मी- गुल्मीमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ। गुल्मीमा रहेका २ लाख २३ हजार ६१५ मतदातामध्ये क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३२७ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।

क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार ९०४ र (२) मा ५२ हजार ४२३ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) र एउटा स्थानीय तहमा नेकपा (एमाले) ले नेतृत्व गरेको छ।

रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ। मालिका र धुर्कोटको अध्यक्ष माओवादी जितेको छ। मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो । यहाँ कुल ४३ वडा छन्।

कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो । सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन् । यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेससहितको गठबन्धनको ३२ हजार २२७ मत छ। एमालेसहितको गठबन्धनको ३१ हजार ३६२ मत छ।

एमाले गठबन्धनभन्दा कांग्रेस गठबन्धन ९२५ मतले अगाडि छ। यहाँ नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

वडाध्यक्षले पाएको मत सुरक्षित गर्न सके कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीले जित्न सक्छिन्। तर, उनलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ। एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्न सक्ने अवसर पनि झाँक्रीलाई छ।

कांग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्नलाई भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्नेछिन्। विष्टलाई भने एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनमा भएका दलको मत पनि तान्नुपर्ने बाध्यता छ।

जुन सम्भव नहुन पनि सक्छ। अघिल्लो सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जित निकालेका उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बनेकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्दछ।

पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ। झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ। यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसहितको गठबनधनको १६ हजार ६७ मत छ।

एमालेसहितको गठबन्धनको १५ हजार ८८२ मत छ । जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन १८५ मतले अगाडि छ। यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्दछन् । यहाँ २१ वडा छन्।

कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ । यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकोले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउन सके मात्र जित सहज छ। यो सानो प्रयासले हुँदैन। एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मत समेत तान्न आवश्यक छ। जुन त्यति सहज छैन।

यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ। अघिल्लो पटक रेसुङ्गाको प्रमुखमा उनै भुसालसँग हार व्यहोरेका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा छन् । भुसालले अघिल्लो जितलाई आत्मबलका रूपमा लिएका छन्।

यस क्षेत्रको प्रदेशसभा (ख) मा कांग्रससहितको गठबन्धनको १६ हजार २२० मत छ। एमालेसहितको गठबन्धनको १५ हजार ८४० मत छ। एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको गठबन्धन ३८० ले अगाडि छ।

यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमाले गठबन्धनबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मालिका, मदाने र धुर्कोट पर्दछन्। यहाँ २२ वडा छन्। कांग्रेसका १३, एमालेका आठ र माओवादीले एक वडा जितेका छन्। कांग्रससहितको गठबन्धनका १४ र एमालेसहितको गठबन्धनका आठ वडाध्यक्ष छन्।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जित निकाल्न सहज छ। धुर्कोटमा एमालेसँगको गठबन्धनले नदेखिएको मत पनि अहिले माओवादीमै आउँछ।

तसर्थ पनि सत्तारुढ गठबन्धन अलि सहज स्थितिमा रहेको देखिन्छ। नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ। यो पन्थीका लागि चुनौतीपूर्ण छ।

खानेपानी माग्छन् जनता

यस क्षेत्र नागरिकले अझै पनि घरमै खानेपानीको माग गरिरहेका छन्। मदाने–६ की पवित्रा विकले आफूहरूले एक घण्टा टाढाबाट पानी बोकेर खानुपर्ने अवस्था रहेको गुनासो गर्छिन्।

'बिहानै ५ बजे उठेर एक घण्टा टाढा थाम्कामा पानी बोक्न जाने मेरो दैनिकी हो,' उनले भनिन्। उनीसँगै थाम्काका छ घरपरिवारमा यो समस्या छ। यस क्षेत्रमा अझै खानेपानी, सडक र स्वास्थ्य लगायतको निकै समस्या छ। यस क्षेत्रका नागरिकले आफूहरूलाई मतदान गर्न कसैले नसिकाएको गुनासो गरेका छन्। 'मलाई मत बदर हुन्छ कि भन्ने चिन्ता छ,' मदानेका दुर्गाबहादुर कुँवरले भने, 'मत कसरी राख्नेसम्बन्धी कसैले शिक्षा दिएन, सिकाए हुन्थ्यो।'

सोही स्थानका २० वर्षीय निरज नेपाली पनि आफू पहिलोपटक मतदान गर्न लागेको बताउँछन्। तर, मतदानबारे आफूलाई केही जानकारी नभएको उनको भनाइ छ। गाउँगाउँमा मतदाता शिक्षाको अभाव भएकाले मतदाता शिक्षा आवश्यक रहेको उनी बताउँछन्।

निर्वाचन कार्यालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यहाँ १ लाख १५ हजार मतपत्र आइपुगेको छ। (१) मा ५९ हजार र (२) मा ६० हजार मतपत्र आएको सूचना अधिकारी मेघलाल पाण्डेले बताए। यहाँ १२८ मतदान केन्द्र र ६१ मतदानस्थल छन्।

(१) मा ६२ र २९ छन्। (२) मा ६६ र ३२ छन्। निर्वाचन कार्यालयले वडावडामा स्वयंसेविकामार्फत मतदाता शिक्षा दिइरहेको दाबी गरेको छ । साथै निर्वाचन अनुगमन अधिकृत छविन्द्र बेल्वासेले यहाँ आचारसंहितासम्बन्धी अनुगमन भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर