काठमाडौं- नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्।
शाहका कानुन व्यवसायीले शुक्रबार जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए।
पलविरुद्ध नाबालिगलाई जबरजस्तीकरणी गरेको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो। जबरजस्ती करणीको अभियोजनमा सफाई दिए पनि पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुइ वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो।
सोही फैसलामा चित्त नबुझेको भन्दै पलका तर्फबाट पुनरावेदन दर्ता गरिएको हो। ‘नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग गर्यो भन्ने फैसला गर्यो। यो फैसला कानुनसम्मत नभएको हुनाले फैसला उल्टी गरी सफाइ पाउँ भनी हामी उच्च अदालतमा पुनरावेदन गर्न गएका हौं’, वाग्लेले भने।
शाहविरुद्ध बलात्कारकै आरोपमा जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता छ। जिल्ला अदालतमा मंसिर २५ गतेलाई पेशी तोकिएको छ। पल तनहुँको कारागारमा छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation