७ वैशाख २०८१, शुक्रबार

राप्रपाबाट को-को बन्दैछन् समानुपातिक सांसद? (नामसहित)

  • २२ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा राष्ट्रिय राजनीतिको पाँचौं शक्ति बन्‍न सफल भएको छ। २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिटमा खुम्चिएको राप्रपाले यसपालि ७ सिट जितेको छ भने समानुपातिकतर्फ पाएको ५ लाख ८८ हजार ८ सय ४९ मतबाट थप ७ सिट जोडेर कुल सिट संख्या १४ पुर्याएको छ। 

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा प्रतिनिधि सभामा समानुपातिकतर्फ सदस्यहरु चुनिने छन्। संवैधानिक व्यवस्थाअनुसार तीमध्ये राप्रपाले बन्दसूचीमा परेका दुई महिलालाई अनिवार्य प्रतिनिधि सभा सदस्य बनाउनु पर्ने छ। 

सबै दलले कम्तीमा ३३ प्रतिशत महिला सांसद अनिवार्य निर्वाचित गराउनै पर्ने संवैधानिक व्यवस्था छ। दलहरुले यो ३३ प्रतिशत अनुपात राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्याउनु पर्ने हुन्छ। 

विभिन्न क्लस्टरअन्र्तगत पहिलो नम्बरमा बन्दसूचीभित्र पर्न सफल बुद्धिमान तामाङ, बिना लामा, सुमित्रा गुरुङ, पशुपति शमशेर जबरा, रोशन कार्की, देवकुमारी पराजुली, कृष्णमाया हिताङ, गिरिधारीप्रसाद चौधरी, शिलाकुमारी थारु, ऋषिबाबु परियार, अनिसा नेपाली, प्रह्लादप्रसाद साह, बिना जयसवाल, अन्जरा आलम र नाजिया खातुनमध्ये ७ जना समानुपातिक सांसद हुने निश्चित छ। 

बुद्धिमान तामाङ आदिवासी–जनजाति क्लस्टरअन्तर्गत पुरुषबाट र बिना लामा महिलाबाट पहिलो नम्बरमा पार्टीको बन्दसूचीमा परेका छन्। पशुपति शमशेर जबरा खस–आर्य क्लस्टरमा पुरुषतर्फ र रोशन कार्की महिलातर्फ बन्दसूचीको १ नम्बरमा राखिएका छन्। 

पिछडिएको क्षेत्रबाट आदिवासी–जनजाति क्लस्टरअन्तर्गत महिलातर्फ सुमित्रा गुरुङ, खस–आर्य क्लस्टरमा महिलातर्फ कृष्णमाया हिताङ तथा पुरुषतर्फ श्यामबहादुर शाहीको नाम बन्दसूचीको पहिलो नम्बरमा समावेश छ।

खस–आर्य क्लस्टरमा अपाङ्गता भएकाबाट देवकुमारी पराजुलीलाई, थारु क्लस्टरमा पुरुषतर्फ गिरिधारीप्रसाद चौधरी र महिलातर्फ शिलाकुमारी थारुलाई, दलित क्लस्टरमा पुरुषतर्फ ऋषिबाबु परियार र महिलातर्फ अनिसा नेपालीलाई १ नम्बरमा राखेर राप्रपाले बन्दसूची बुझाएको छ। 

यस्तै मधेशी क्लस्टरमा पुरुषबाट प्रह्लादप्रसाद साह र महिलाबाट बिना जयसवाल तथा मुस्लिम क्लस्टरमा पुरुषबाट अन्जरा आलम र महिलाबाट नाजिया खातुनको नाम बन्दसूचीमा पहिलो क्रममा सूचीकृत छ। 

राप्रपाबाट राजेन्द्र लिङ्देन (झापा–३), धवलशमशेर जबरा (बाँके–२), दीपक बोहरा (रुपन्देही–३), विक्रम पाण्डे (चितवन–३), ज्ञानेन्द्रबहादुर शाही (जुम्ला), दीपकबहादुर सिंह (मकवानपुर–१) र धु्रवबहादुर प्रधान (नवलपरासी–२) प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने सांसदमा पर्दछन्। 


प्रतिक्रिया

सम्बन्धित खवर