१६ चैत २०८०, शुक्रबार

‘हनिट्रयाप’ मा पारेर करोडौं बार्गेनिङ गर्ने तीन जना प्रहरीको फन्दामा

  • २५ मंसिर २०७९, आइतबार
Image

बुटवल- शारीरिक सम्बन्धको प्रस्ताव राख्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्ने गिरोह दाङबाट पक्राउ परेको छ। ‘हनी ट्रयाप’बाट मोटो रकम डिल गर्दै सामाजिक सञ्जालबाट बार्गेनिङ गर्ने तीन जना घोराहीबाट आइतबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले मोटो रकमको डिल गर्दैगर्दा घोराहीको एक होटलबाट दुई जना महिला र एक पुरुषलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १० नारायणपुरका २७ वर्षीया रुद्रवहादुर केसी, तुलसीपुर उपमहानगरपालिका– १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत र गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज रहेका छन्।

उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई ‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर धम्की दिँदै आएका थिए। उनीहरूले ५ करोडको बार्गेनिङ गरेको खुलेको छ। पीडित व्यवसायीले आफूलाई यौन सम्बन्धको प्रस्ताव राख्दै ‘ब्याकमेलिङ’ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाको योजनाकार अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुष्कासँग दुई वटा नेपाली नागरिकतासमेत रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर