१३ माघ २०७९, शुक्रबार

पुस १ : तरुणसँग तर्सिएको शासक

  • १ पुष २०७९, शुक्रबार
Image

मुलुकको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य गर्दै २००७ साल फागनु ७ गते नेपाल नयाँ युगमा प्रवेश गर्‍यो। नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भएको घोषणा भयो। हजारौं युवाहरुको संघर्ष, त्याग र बलिदानको जगमा स्थापना भएको प्रजातन्त्रलाई थप सुदृढ बनाउनका लागि २०१० सालमा समाजवादी युवाहरुको संगठन नेपाल तरुण दलको स्थापना भयो। 

नेपाल तरुण दलले नेपाली कांग्रेसको विचारलाई समाजको हरेक तप्कामा पुर्‍याउन र प्रजातन्त्रलाई प्रबर्धन गर्ने काममा मात्रै लागेन, यसले देशभरका युवाहरुलाई एक ठाउँमा ल्याउनसमेत भूमिका खेलिरहेको थियो। 

धेरै युवकहरुले यसको पक्षमा सक्रियता देखाए , समयको गतिसँगै परिपक्‍व भएर हुर्कदै समाजवादबारे पैरवी गर्दै जाँदा संगठन विस्तार र बलियो हुँदै जाँदै थियो। आशा गरेभन्दा बढी उमंगको साथ गाउँगाउँबाट युवाहरुको स्‍नेह र विश्‍वास प्राप्त हुन थाल्यो। फेरि एकपटक समाजवादी विचारधाराका युवकहरुमा सौहार्दता सिर्जना गर्न तरुण दलले भूमिका प्रशंसनीय छ। 

२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत पुर्‍याउनका नेपाल तरुण दलको भूमिका निर्णायक थियो। जसमा कांग्रेसलाई सफलतासमेत हात परेको र १०९ सिटमध्ये ७४ सिट जित्‍न सफल भयो। जनता माझ नेपाली कांग्रेसको आशा र विश्वास झाँगिदै गयो, देश विकासका लागि प्रगतिशील कदमहरु चालिरहेको थियो। आम निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता इमान्दारीका साथ पूरा गर्न र सरकारले गर्ने र गरेका कामहरुलाई जनतामाझ पुर्‍याउने काम पनि नेपाल तरुण दलले गरिरहेको थियो। 

नेपाल तरुण दलको बढ्दो लोकप्रियता, प्रगतिशीलता कदमहरु तथा बीपी कोइरालाको तेजस्वी व्यक्तित्व नै प्रथम जननिर्वाचित सरकारको लागी एक अभिशाप बन्‍न पुग्यो। २००७ सालमा प्राप्त भएको जनताको मौलिक अधिकारहरुप्रति जानेर बुझेर धमाधम कुठाराघात हुँदै गइरहेको थियो। राष्ट्र निर्माणको यो ठोष निर्णय नै कोइराला सरकार पतनको लागि कारक तत्व हुन् पुग्यो। राजा महेन्द्र आफ्नो खोसिएको अधिकारलाई जनताबाट पुन: कसरी हात पार्न सकिन्छ भनी अहोरात्र सोचमा हुन्थे। कांग्रेस सरकारको प्रगतिशील कदमबाट विचलित भएका प्रतिक्रियावादी शक्ति र दरबार संगठित हुँदै उपयुक्त मौकाको पर्खाइमा थिए। 

२०१७ साल पुष महिनाको मुटु कमाउने जाडो भए पनि नेपाली राजनीति भने तातिएको थिय। कठ्याग्रिँदो जाडोमा पनि नेपाली जनतालाई प्रजातन्त्र र समाजवादप्रतिको मोह जागृत गरिरहेको नेपाल तरुण दलमाथि आक्रमण गर्ने दरबारले योजना बनाएको रहेछ। सोही योजना अनुसार नेपाल तरुण दलको प्रथम महाधिवेशन २०१७ पुष १ देखि ४ सम्म मिति तोकिएको थियो। नेपाल तरुण दलको प्रथम राष्ट्रिय महाधिवेशनले राष्ट्रिय रुपमा यसको औचित्य, भावी कार्यक्रम एवं संगठन विस्तार आदि विषयहरुमा बृहत् छलफल गरी समाजलाई व्यवहारिक मुर्तरुप दिन आयोजित यो कार्यक्रमप्रति देशभित्र र बाहिरका शक्ति केन्द्रले नजिकबाट नियालिरहेका थिए। 

पुस १ गते बिहान ८ बजे नै थापाथलीको ब्रह्म शमशेरको दरबारको कम्पाउण्डमा जिल्ला-जिल्लाबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरुको चहलपहल देखिन्थ्यो। सबैलाई आ-आफ्नो स्थानमा बस्‍न र भिड मिलाउन स्वयम् सेवकहरु खटिएका थिए।  ९:३० बजे प्रधानमन्त्री वीपी कोइराला आफ्ना अन्य मन्त्रीसमेत महाधिवेशन स्थलमा प्रवेश हुनासाथ उपस्थित कार्यकर्ता एवं सम्मेलनका सहभागीहरुले ताली बजाउँदै भव्य स्वागत गरे। वीर वीपी जिन्दावादको नाराले सम्मेलन स्थल गुन्जायमान भयो।  वीपी मञ्‍चमा बस्‍नुभन्दा अगाडी आफ्नो कार्यकर्तालाई चारैतिर हात हल्लाउदै हर्ष उल्लासले भावविहल भएका कार्यकर्ताहरुलाई बस्‍न गरे। वातावरण शान्त भएसँगै सबैको ध्यान मञ्‍चमा केन्द्रत भयो।  

समारोह मञ्‍चमा नेपाल तरुण दलका अध्यक्ष  सिंह ध्वज खड्का प्रधानमन्त्री वी पी कोइराला,उद्योगमन्त्री गणेशमान सिंह ,गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, सभामुख कृष्ण प्रसाद भट्टराई, नेता गिरिजा प्रसाद कोइराला, नेपाली कांग्रेसका महामन्त्री श्रीभद्र शर्मा खनालले कार्यक्रम अनुसार पानसमा बत्ती बालेर औपचारिक रुपमा उद्घाटन गरे। त्यसपछि महामन्त्री श्रीभद्र शर्मा रोस्टममा माइक समाएर के बोल्न लागेका थिए, अचानक जर्नेल सुरेन्द्र बहादुर शाहको नेतृत्वमा आएको सैनिक टुकुडीले मञ्‍च घेरेर बन्दुकधारी सिपाहीहरुले प्रधानमन्त्रीको सुरक्षा गार्ड र अन्य मन्त्रीहरुको गार्डको पेस्तोल खोसिसकेका थिए।  

सम्मेलन स्थललाई सैनिकहरुले पूर्णतया घेराउ गरी सकेपछि जर्नेल सुरेन्द्र बहादुर शाह र दरबारको जर्नेल समर बहादुर मञ्‍चमा चढेर प्रधानमन्त्रीलाई स्यालुट गर्दै दरबारबाट महाराजधिराजको हुकुम अनुसार बोलाउन आएको भनी सुनाए र मञ्‍चमा रहेका अन्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सूर्यप्रसाद उपाध्यायहरु सबैलाई दरबारबाट बुलावा आएको सुनाउँदै सँगै हिँड्न आग्रह गरेर जाँदै गर्दा आफ्नो नेताहरुलाई सैनिकले घेरा हालेर लग्दै गरेको थाह हुनासाथ कार्यकर्ता उत्तेजित भई वीर वी पी जिन्दावाद, प्रजातन्त्र अमर होस् आदी नारा लगाउन थाले।  

सैनिक टुकुडीको कडा गस्ती सहित प्रधानमन्त्री वी पी कोइराला चढेको जीप सिंहदरबारतर्फ तेजले अगाडी बढ्यो। कार्यक्रम स्थलमा हात हतियार बोकेका सैनिकहरुले घेरेका थिए।  कुनै पनि अवस्थामा घटनाले मुठभेडको स्थिति लिएमा प्रजातन्त्रको हजारौं सपुतहरुको सैनिकहरुको गोलीले रगतको खोला बग्ने सम्भावना थियो। तरुणहरुबाट त्रसित भएको सत्ताको पहिलो निशाना नै तरुण महाधिवेशन भएपछि दरबारलाई कू गर्न सहज भएको थियो।  

वीपी कोइरालासँगै अन्य वरिष्ठ नेताहरुको गिरफ्तारीको लगतै नेपाली कांग्रेसका नेता सबैजसोलाई ब्यापक धरपकड गरिन थालियो। सैनिकको भरमा राजाले गरेका 'कू'को दु:खद घटनाको समाचार सहरभर फैलियो। चारैतिर डर र त्रास र अन्योलको वातावरण बन्दै गयो। सोही दिन राती रेडियो नेपालले विशेष सूचना प्रकाशित गर्दै राजाबाट संसद भंग भएको घोषणा भयो। कांग्रेसी भनेर चिनिने सबै जसो नेताहरु गिरफ्तार हुन् थाले भने कति प्रवास जान बाध्य भए।  

राजा महेन्द्रले जति तानाशाही ताण्डव देखाउँदै जान्थे त्यति नै आफ्नो ज्यान हत्केलामा राखी प्रतिगामी कदमप्रति आवाज उठाउन भने छोडेनन्। सहरमा जताततै हतियारसहित सैनिकको कडा गस्ती लागे पनि क्रान्तिकारी तरुण युवाहरुले त्यस देशघाती काण्डको विरोध गर्न पछि परेनन्। राजाको कदमको विरोधमा माइकिङ् गर्ने सिलसिलामा शंकर जोशी, मार्शल जुलुम शाक्य, भरत जोशी, पिताम्बर दाहाल आदिलाई क्रान्तिकारीहरुलाई गिरफ्तार गरी कडा यातना दियो।

यसरी २०१७ साल पौष १ गते आजैको दिन सैनिक बलको आधारमा एक प्रगतिशील सरकारको विघटन मात्रै हैन कलिलो प्रजातन्त्रको घाँटी निचारेर हत्या गरिँदा देशका हजारौं युवा तरुणहरु क्रान्तिको आगोमा होमिन तयार भए र आन्दोलन चल्दै गयो। 

प्रतिक्रिया

सम्बन्धित खवर