काठमाडौं- बलिउड अभिनेत्री दीपिका पादुकोण आफूले लगाएको बिकिनीको रङका कारण विवादमा तानिएकी छन्। शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’मा समावेश बेशर्म रङ बोलको गीतमा दीपिकाले लगाएको बिकिनीको रङलाई लिएर उनी विवादमा तानिएकी हुन्।
बिकिनीका कारण भारतमा उक्त फिल्म नै बहिस्कार गर्नेसम्मको चर्चा हुन थालेको छ। उक्त गीतको दृश्यलाई लिएर विभिन्न राजनीतिक दल, समूह र आम मानिसले समेत विरोध गरिरहेका छन्। पहेलो रङलाई हिन्दू धर्ममा पवित्र रङ मानिने भएकाले धर्मको अपमान भएको भन्दै यो विवाद सिर्जना भएको हो।
भारतीय जनता पार्टीले पनि यही रङलाई प्रयोग गर्दै आएको छ। यो विषयलाई लिएर सत्तारुढ भारतीय जनता पार्टीले पनि विरोध गरेको छ भने मध्यप्रदेशका गृहमन्त्री डा. नरोत्तम मिश्रले गीतमा समावेश दृश्य आपत्तिजनक भएको र दूषित मानसिकताका साथ फिल्म निर्माण गरिएकाले गीतमा समवेश पहेलो रङको वष्त्र लगाएको दृश्य नहटाए फिल्मको रिलिज नै रोक्ने चेतावनी दिएका छन्।
सिदार्थ आनन्द निर्देशित यस फिल्मको गीतमा समावेश दृश्यप्रति पनि धेरैले आपत्ति जनाउँदै इन्दौरलगायत भारतका विभिन्न स्थानमा शाहरुख र दीपिकाको पुत्लासमेत जलाएका छन्।
अभिनेत्री पायल रोहतोगी कपडाको रङबारे विवाद गर्नु भनेको बेवकुफी भएको भन्दै दीपिकाको बचाउमा उत्रिएकी छन्। गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन्।
फिल्म बहिष्कारको तरंग सुरु हुँदा मौन देखिएका शाहरुखले यस प्रकरणमा भने मौनता तोडेका छन्। पठान बहिष्कार गर्नुपर्छ भन्ने पक्षले मुलुकलाई विभाजित गर्न खोजेको भन्दै शाहरुखले असन्तुष्टि जनाएका हुन्।
२८ औं कोलकाता अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटन समारोहमा भाग लिन पुगेका उनले भने, ‘हाम्रो समयको सामूहिक कथालाई सामाजिक सञ्जालले आकार दिन थालेको छ। सामाजिक सञ्जालले फिल्मलाई नकरात्मक असर गर्छ भन्ने विश्वासको विपरीत मलाई लाग्छ अब फिल्मले अझ महत्वपूर्ण भूमिका खेल्नेछ ।’
उनले भने, ‘संसारले चाहे जेसुकै गरोस्, म र तपाईं जति पनि सकारात्मक सोचका मान्छे छौं, सबै जिउँदा छौं।’ शाहरुखको यो अभिव्यक्तिको इशारा ती मान्छेतर्फ लक्षित थियो, जसले सामाजिक सञ्जालमा पठानविरुद्ध ट्रोल बनाइरहेका छन्। सामाजिक सञ्जालले यो आधुनिक जमानामा सामूहिक भाष्य निर्माण गर्ने उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation