१३ माघ २०७९, शुक्रबार

बलात्कारलाई अरु ट्रमासँग तुलना गर्नु अन्याय

  • २ पुष २०७९, शनिबार
Image

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बलात्कारलाई सामन्यीकरण गर्नुपर्ने दिएको भिडियो अभिव्यक्ति अहिले आलोचनासहित सामाजिक सञ्जालमा भाइरल भएको छ। काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसमा सदस्य गौतमले उक्त भिडिओमा बलात्कारलाई समाजले ठूलो विषय बनाएको, यसको नाममा डलर ल्याइएको र यसलाई सामान्यीकरण गर्नुपर्ने बताएकी छन्। 

भिडियोमा उनले भनेकी छन्, ‘म आफ्नै उदाहरण दिन चाहन्छु। मलाई कसैले बलात्कार गर्‍यो। म पीडित महिला भएँ नि त, एउटा सिनारियो। अर्को सिनारियो– कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा काटिदियो। अब दुईवटा इन्सिडेन्ट (घटना) लाई कम्पियर (तुलना) गरेर हेर्नुस्– म बलात्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा काट्यो त्यो सोबिता विचरा भई? यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त! जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने? मेरो जिन्दगी सकियो! तर बलात्कृृत हुँदैमा चाहिँ पुनःस्थापना हुनका लागि चाहिँ कुनै पनि गाह्रो छैन। अन्टिनेन अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन। त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खालि समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्‍यौँ कि डलरहरू ल्याउने हैन, अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चैँ, यसलाई सामान्यीकरण गर्नुपर्छ।’

तर, बलात्कारलाई अरु कुनै ट्रमा/दुर्घटना तुलना गर्न मिल्दैन। सबैभन्दा पहिले सबै ट्रमाको आ-आफ्नो विशेषता हुन्छ र ती ट्रमाबाट बाहिर निस्कने पद्दती पनि छुट्टै हुन्छ। टाउको दुखेको सबै उपचार सिटामोल जस्तो सबै कुराको एउटै समाधान खोज्न मिल्दैन। 

बलात्कारलाई किन विशेष हो र यसलाई 'डिल' गर्न किन छुट्टै पद्दतिको खाँचो छ, त्यो बारेमा लेख्न चाहन्छु। बलात्कारलाई अरु कुनै घाउ-चोट सँग तुलना गर्न मिल्दैन। बलात्कार भनेको भौतिकरुपमा जबरजस्ती यौन सम्पर्क गर्नु मात्र हैन। बलात्कारको त ठूलो मनोवैज्ञानिक कारण छ। बलात्कार भनेको 'शक्ति' को कुरा हो। 'हन्टर' (सिकारी) र 'प्रे' (सिकार) को कुरा हो। बलात्कारले गर्ने साईकोलोजिकल असर भनेको- डिमोरलाइज्, वर्थलेस र डि-ह्युमनाइजेसन गर्छ। 

डि-ह्युमनाइज् सबैभन्दा महत्वपूर्ण कुरा हो। रेपिस्टको मानसिकता-म शक्तिशाली छु र म तलाई मान्छे हैन वस्तुको जस्तै ब्यबहार गर्छु भन्ने हुन्छ। त्यसैले बलात्कार पीडितहरु शक्तिविहीन महसुस गर्छन्। बलात्कार भनेको साइकोलोजिकल वारफेयर हो। सबै युद्धमा प्राय महिलाहरुलाई बलात्कार गरिन्छ। बन्दुक बोकेका सिपाहीसमेत गोलीले महिलाहरुलाई नमारेर बलात्कार गरेर छोड्दिन्छन्। त्यो केबल यौन प्यास मेटाउन होइन, मनोवैज्ञानिक कुरा हो। 

एक गोलीले त्यो कुरा सकिन्थ्यो, तर बलात्कारपछि पुस्तौँसम्म हामी निरिह थियौँ, हामीमा शक्ति छैन भन्‍ने मनोवैज्ञानिक छाप परिरहन्छ। यती गहिरो हुन्छ बलात्कारको मनोविज्ञान। त्यसैले यो अन्य कुनै ट्रमा (जस्तै कुटपिट/अबहेलना) भन्दा फरक छ। स्याउ र सुन्तला दुबै फल हुने भनेजस्तै तुलना गर्न मिल्दैन, चाहे कुनै घाउ-चोट होस् या अन्य ट्रमा। 

अब बलात्कारबाट गुज्रेकालाई कसरी समाजमा स्थापना गर्ने त? अरु घाउ-चोट लागेकाको जस्तो समाधान यसमा खोज्‍न मिल्दैन, किनभने यो भैतिक कुरा मात्र हैन, मानसिक कुरा पनि हो। त्यसैले सिटामोल उपचार पद्धति यसमा लागू गर्न मिल्दैन। बलात्कारको मुख्य मनोविज्ञान- निरिहता हो, वस्तु सरह व्यवहार गरिनु हो। यसको उपचार ती खोसिएको कुरा मनोवैज्ञानिक रुपमा फिर्ता गर्नु हो। तिमीमा शक्ति छ र तिमी वस्तु होइनौ, मान्छे हौ भन्ने भावना जगाउनु पर्छ। 

त्यसैले बलात्कारको कारण पनि विषेश छ र यस्को उपचार पनि विषेश तरिकाले नै गरिनु पर्छ, यसलाई अरु ट्रमा/घाउ-चोटसँग दाँजे भने अन्याय हुन जान्छ।

देवकोटाको ट्विटरबाट।

प्रतिक्रिया

सम्बन्धित खवर