१३ माघ २०७९, शुक्रबार

सत्ता गठबन्धनबाट को बन्छ राष्ट्रपति?

  • १५ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- नयाँ सत्ता समीकरण बनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै भावी राष्ट्रपतिको चर्चा पनि सुरु भएको छ।  सत्तारुढ सात दलको गठबन्धनबाट राष्ट्रपति एमालेको भागमा पर्ने प्रबल सम्भावना छ।  एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरू दाबेदार छन्। राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको सम्भावना भएको एमालेकै नेताहरु बताइरहेका छन्। व्यवस्थापिका संसद् अध्यक्ष, दुई कार्यकाल संविधानसभा अध्यक्ष, तीनपटक सांसद् र कानुनमन्त्री भइसकेका नेम्वाङ अघिल्लोपटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए। 

पार्टी विधानको उमेरहदले पार्टी र सरकारमा कार्यकारी भूमिकाको सम्भावना कम रहेकाले यसपटक उनी स्वयंले पनि राष्ट्रपतिमा रुचि राखेको बुझिन्छ। संसदीय मामिला र कानुनका अनुभवी, संविधान निर्माणमा भूमिका खेलेका र जनजाति पृष्ठभूमिका नेता नेम्वाङले सार्वजनिक रूपमा भने मुख खोलेका छैनन्। एमालेमा राष्ट्रपतिका आकांक्षी नेम्वाङलाई पुनः सभामुखमै दोहोर्‍याउने आवाज पनि बलियो छ। तर, नेम्वाङले भने आफू फेरि सभामुख र मन्त्री बन्‍ने तयारीमा नलागेको बताउने गरेका छन्। 

पार्टीभित्र नेम्वाङ ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन्। जस कारण पनि नेम्वाङको राष्ट्रपति बन्‍ने सम्भावना बढी देखिएको नेताहरुले बताएका छन्। त्यसो त नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने चर्चा पनि सुरु भएको छ। समाजवादीसँग पार्टी एकता नै गरेर नेपाललाई राष्ट्रपति दिन एमाले तयार भएको समाचार बाहिरिएको छ। 

अध्यक्ष नेपालले एमालेका नेताहरुसँग पनि लगातार संवाद गरिरहेका छन्। एमाले नेताहरूले एकीकृत समाजवादीलाई सत्ता सहकार्य मात्रै नभएर एकतासम्मकै प्रस्ताव लगेको बताउने गरेका छन्। तर, बिहीबार पार्टी जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताए। 

यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको र  त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको उल्लेख गरे। यदि वर्तमान सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच सत्ता समीकरण बनेमा अध्यक्ष नेपाल राष्ट्रपति बन्‍ने लगभग पक्का छ।

त्यस्तै, संसदीय राजनीतिबाट लगभग अवकाशमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली र संसदीय राजनीतिबाट अवकाशकै घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि राष्ट्रपतिको दाबेदारका रूपमा हेरिएको छ। ज्ञवाली उपाध्यक्षमध्ये सिनियर हुन्। एकपटक मन्त्री बनेका उनले पार्टीभित्र अन्तर्संघर्षमा मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्। तर, ज्ञवाली स्वयंले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। नेतृत्वमा नयाँलाई अवसर दिनुपर्ने मान्यता सार्वजनिक गरेर संसदीय राजनीतिबाट अवकाश लिएकी शाक्यलाई राष्ट्रपति बनाएर फेरि पनि एमालेले महिला आन्दोलनलाई सम्मान गरेको सन्देश जाने मत पनि पार्टीभित्र उठ्न थालेको छ। 

राष्ट्रपतिको दौडमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलपनि देखिएका छन्। बादलले समस्या परेका बेला सहयोग गरेको, सांसदको आकांक्षा पनि नदेखाएका कारण उनलाई राष्ट्रपति बनाउनुपर्ने आवाज पनि पार्टीभित्र बलियो छ। उनी तत्कालीन नेकपा फुटेपछि नेकपा माओवादी केन्द्र छोडेर एमालेतिर लागेका थिए। पार्टीभित्र एमाले अध्यक्ष ओली नजिक रहेका थापाको सम्भावना पनि रहेको विश्लेषण हुन थालेको छ।  

राष्ट्रपति चयनको समय अझै एक महिना बाँकी छ। तर, यसअघि राष्ट्रपतिबारे धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि  निर्वाचनको सबै प्रक्रिया पूरा गरी सक्नुपर्ने व्यवस्था छ। सोही अनुसार निर्वाचन आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी थालेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ मा सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर