१३ माघ २०७९, शुक्रबार

भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

  • १९ पुष २०७९, मङ्गलबार
Image

नेपालगञ्ज- बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन। बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौंका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए। 

जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौंका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ। ‘अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन’,प्रमुख खनालले भने।

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल प्रमुख खनालले बताए। आज बिहानैदेखि छ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाका सबै उडान रद्द गर्नुका साथै काठमाडौंका लागि सबै उडान रद्द गरिएको उनले बताए।

नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० र काठमाडौंका लागि १५ वटासम्म उडान हुने गरेको बताइएको छ। यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ।

केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन अस्तव्यस्त छ। दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ। नेपालगञ्जमा चिसोका कारण बाटोमा दाउरा बालेर बसिरहेको दृश्य देख्न सकिन्छ। 

प्रतिक्रिया

सम्बन्धित खवर