१६ चैत २०८०, शुक्रबार

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

  • २३ पुष २०७९, शनिबार
Image

काठमाडौं- संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ। संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले दोस्रो पटक उपाधि जितेको हो।

संकटाले यसअघि २०७७ सालमा पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो। खेल अतिरिक्त समयमा पुग्नुअघि निर्धारित समयमा संकटा र भुटनिज युथले २–२ को बराबरी खेलेका थिए।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गरेको गोल नै संकटाको जितमा निर्णायक बन्यो।

यसअघि खेलको आठौँ मिनेटमा सुरज जिउ ठकुरीले संकटालाई अग्रता दिलाएका थिए । खेलको ३५ औँ मिनेटमा मेसुके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाए। ३७ औँ मिनेटमा भुटनिज युथका रिनी सान्तिलोनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा विली ग्रिफिथले हेडर गोल गर्दै भुटनिज युथलाई खेलमा फर्काएका थिए । यसपछि निर्धारित समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

यस्तै, उपविजेतामा चित्त बुझाएको भुटनिज युथले ६ लाख रुपैयाँ पुरस्कार पायो। भुटनिज युथले पहिलोपटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको हो। उपाधिसम्मको यात्रा तय गर्दा संकटाले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ तथा सेमिफाइनलमा साविकको विजेता एपीएफ फुटबल क्लबलाई ४–१ ले हराएको थियो।

यता भुटनिज युथले क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी तथा सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई समान १–० ले हराउँदै पहिलोपटक फाइलनमा स्थान बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर