काठमाडौं- नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्। पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो।
सीआईबीको टोलीले आलमलाई मोरङ र अन्सारीलाई सप्तरीबाट पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई सोमबार काठमाडौं ल्याउने तयारी गरिएको छ। अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
नेपाल टी-२० लिगमा आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। स्पट फिक्सिङको आशंका गरेपछि जनकपुरले आदिललाई खेलबाट बाहिर राखेको थियो।
नेपाल टी-२० लिग चलिरहँदा स्पट फिक्सिङको आरोपमा सीआइबीले अनुसन्धान गरिरहेको थियो। सीआईबीले यसअघि नै म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) सँग पनि जवाफ मागेको थियो।
क्यान ध्यक्ष चतुरबहादुर चन्द र पूर्व कप्तान तथा म्यानेजर विनोद दाससँग सीआईबीले सोधपुछ गरेको थियो। अध्यक्ष चन्दले फिक्सिङबारे आवश्यक अनुसन्धान गरिदिन भन्दै सीआईबीमा निवेदन पनि दिएका थिए। सीआईबीले अन्य पदाधिकारी र खेलाडीलाई पनि सोधपुछका लागि बोलाएको थियो।
नेपाल टी-२० लिग चलिरहेका बेला खेलाडीहरुले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए। क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation