काठमाडौं- ओमानको राजधानी मस्कटमा भएको २० औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा नेपालले स्वर्ण पदक जितेको छ।
ओमान कन्भेन्सन एन्ड एक्जिविसन सेन्टरमा ६९ देशका १६०० सहभागीसहित उक्त प्रतियोगिता भएको हो।
पुरुष ४५ वर्षमाथिको उमेर समूहमा नेपालका राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले मेन्ड डबल्समा स्वर्ण जितेका हुन्। राजेन्द्र र रक्तको जोडीले फाइनलमा भारतीय खेलाडी रजनिस खतवकर र अनिल मोदीको जोडीलाई ३–२ को सेटमा हराए।
नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले हराएको नेपाली टोलीकी प्रशिक्षक अनिता महर्जनले जानकारी दिइन्। नेपाली खेलाडीको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपालका राजदूत डोरनाथ अर्याल र नेपालीको पनि उपस्थिति रहेको खेलाडी दुलालले जानकारी गराए।
उक्त प्रतियोगिताका लागि नेपालबाट खेलाडीहरु सञ्जय अर्याल, निम जोशी, प्रकाश ढाकवा पनि सहभागी थिए। समापन कार्यक्रममा राजदूत अर्यालले खेलाडीहरुको प्रशंसा गर्दै खेल जीवनको शुभकामना व्यक्त गरेका हुन्।
उक्त खेल १५ जनवरीदेखि सुरु भएको २१ जनवरीमा सम्पन्न भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation