काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा आगामी फागुन महिनामा हुने भएको छ।
नेपाली खेल क्षेत्रमा योगदान पुर्याउने खेलाडी प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने उक्त अवार्ड कार्यक्रम आगामी फागुन २३ गते हुने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी दिए।
उक्त अवार्ड २०७८ सालभर नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याउनाले खेलकर्मीलाई विभिन्न नौ विधामा सम्मान गरिनेछ। वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स अवार्ड छन्।
मञ्चले वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीको उपाधि पाउने खेलाडीलाई जनही एक थान बजाज मोटर साइकल प्रदान गर्नेछ। त्यसबाहेक अन्य विधाका खेलाडीले भने जनही रु ५० हजार पुरस्कार पाउनेछन्।
उक्त स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराजन हुलाचन्द्र एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ। कार्यक्रममा मुख्य प्रायोजकका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation