झापा- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको सोमबार उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङ्देनले ४५ लाख रुपैयाँको लागतमा बनेको २ तले, ४ कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको सोमवार उद्घाटन गरेका हुन्।
सो अवसरमा उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए। ‘सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन, झन् बलियो हुन्छ,’ उनले भने, ‘हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।’ उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विना स्वार्थ उभिएको बताए।
मन्त्री लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए। शंकराचार्य पीठ घोषणा भएको २५औं वर्ष तथा रजत जयन्तीको अवसर पारेर सोमबारै जगतगुरु शंकराचार्यको मूर्तिसहित रजत स्तम्भको समेत अनावरण गरिएको व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए।
शंकराचार्यपीठमा स्थापनाको ४७औं वार्षिकोत्सव तथा श्री शंकराचार्यपीठ घोषणाको २५औं वर्ष ‘रजत जयन्ती’को अवसर पारेर गत माघ १ गतेदेखि श्रीमद् ब्रह्मावैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक एकादशाह विराट गोपाल महायज्ञ भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation