एजेन्सी- प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ।
राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्।
वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।
यसैबीच, हिजोदेखि एaउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation