३२ असार २०८१, सोमबार

एमाले महासचिव पोखरेलले भने- सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियो

  • १५ माघ २०७९, आइतबार
Image

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन्। उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने स्पष्ट पारे।

उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै समस्याहरुको समाधान गरिने बताए। उनले विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भएपनि कसैले प्रश्न नउठाएको बताए।

अदालतको फैसलामाथि नै प्रश्न उठाउँदै पोखरेलले पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको दाबी गर्दै रविको बचाउ गरे। रविले भने ग्रीनकार्डमात्र नभई अमेरिकी नागरिकता नै लिएको यसअघि नै सकारिसकेका छन्।

उनले भने, ‘सामान्यतया अभ्यासमा के हुनेगर्छ भन्ने कुरालाई उहाँले आम अभ्यासलाई रवि लामिछानेले प्रयोगमा ल्याउनु भयो। आम अभ्यासमा जे भइराखेको छ त्यही अभ्यासमा उहाँ हिड्न खोज्नुभयो। तर अदालतले चाहिँ भाषालाई समात्यो। मुद्दा परिसकेपछि अदालतले भाषालाई समाउने कुरा चाहिँ स्वभाविक पनि होला। तर नेपालका सन्दर्भमा भन्ने हो भने थुप्रै व्यक्तिहरु पिआर लिएर विदेशमा बसेकाहरु फर्केर आउँदाखेरी स्वतः नेपाली नागरिक भएका छन्। कसैले प्रश्न उठाएको छ र?’

महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे। उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए।

उनले प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसदले लेखेको पत्रका बारेमा सर्वोच्चले देखाएको सक्रियता भने अस्वभाविक रहेको उल्लेख गरे। दुई दिनअघि सरकार र पार्टी दुवैतिर पद गुमाएका लामिछानेले भने आज काठमाडौं प्रशासनबाट नागरिकता पुनःप्राप्ति गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर