१६ चैत २०८०, शुक्रबार

स्कटल्यान्डमाथि नेपालको सानदार जित

  • ५ फागुन २०७९, शुक्रबार
Image

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सानदार जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्याण्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए। उनले एक सय १६ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ८५ रनको योगदान दिएका हुन्।

त्यसैगरी कुशल मल्लले ८१ रनको योगदान दिए। उनले ६७ बल खेल्दै नौ चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाउन सफल भएका हुन्। यसैगरी सोमपाल कामीले अविजित २४ रन बनाए भने गुल्सन झाले १७ रन बनाए।

कुशल भुर्तेलले १६ रन जोडे। आशिफ शेखले ९, कप्तान रोहित पौडेलले ६, सन्दीप जोराले ५ तथा ज्ञानेन्द्र मल्लले ४ रन बनाए। बलिङतर्फ स्कटल्याण्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले व्याटिङको गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो । स्कटल्याडका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए। उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन्।

त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर  म्याकब्राइडले २२ रन जोडे। यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे।

  क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए।

त्यस्तै सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए। नेपालले अब भोलि (शनिबार) नामिबियासँग खेल्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर