२५ भदौ २०८१, मङ्गलबार

महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन लोसपाको प्रस्ताव

  • ९ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन छलफल सुरु गरेको छ। आज पार्टीको केन्द्रीय कार्यकारिणी समितको बैठक राखेर लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको हो।

पार्टीको यो निर्णयपछि लोसपाका नेताहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्। प्रचण्डलाई भेट्न ठाकुरसहित राजेन्द्र महतो र सरतसिंह भण्डारीलगायतका नेताहरू बालुवाटार पुगेका थिए। भेटमा उनीहरुले ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव राखेका छन्।

प्रधानमन्त्रीलाई बालुवाटारमा मंगलबार भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको नेता राजेन्द्र महतोले जानकारी दिए। आज माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका लोसपाका नेताहरूले अब संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।

ती भेटवार्ताहरूमा उनीहरूले ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग माग्ने बताइएको छ। राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेस, एमाले र माओवादी केन्द्र आ-आफ्नै अडानमा छन्।

कांग्रेस र एमालेले आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताउँदै आएका छन् भने माओवादी केन्द्रले भने राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएको छ। यही फागुन २५ गते हुँदैछ।

त्यसका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मनोनयन दर्ता गराउने दिन नजिकिँदै जाँदा पनि दलहरूमा यो विषयमा सहमति जुट्न नसकिरहेका बेला लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल थाल्ने निर्णय लिएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर