इटाली- इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन्। उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो।
मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो। असी जनाको जीवितै उद्धार गरिएको थियो। एक सय ७० जना बोकेर टर्कीको समुद्रबाट डुङ्गामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए। दुर्घटनाग्रस्त डुङ्गामा धेरै जना पौडिन नजान्ने थिए। तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन्।
दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ। दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ।
सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation