काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन्।
निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौंदेखि दुबई) भरेका हुन्। पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आज काठमाडौं–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
“पाइलटद्वय भावना पन्त र सिर्जना राउतले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो”, उनले भनिन्। निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान गरेका हुन्।
उनीहरुले विमान युएई विमान स्थलमा पुर्याएपछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सो सम्मानको लागि गैरआवासीय नेपाली संघको मध्यपुर्व क्षेत्रीय संयोजक मनोज गोर्खाली, जनसम्पर्क समिति युएईका सभापति भवानी प्रसाद तिमिल्सेना, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा लगायत कृष्ण गौतम,नवराज श्रेष्ठ,प्रकाश थापालगायत युएईवासी नेपालीहरु विमानस्थल पुगेका थिए।
एनआरएनए मध्यपुर्व क्षेत्रीय संयोजक मनोज गोर्खालीले नेपालको ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना साहसी महिला पाईलट भावना पन्त र को-पाईलट सिर्जना रावतले उडान गरेकोमा उनीहरुलाई युएईवासी नेपालीले युएईमा स्वागत गरेको जनाउदै उनीहरुको उज्जवल भबिस्यको शुभकामना व्यक्त गरे।
उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौं फर्कने उडान तालिका रहेको छ। बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार जना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation