३२ असार २०८१, सोमबार

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ११ चैत २०७९, शनिबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

छैटौँ विश्व नेवा दिवसका अवसरमा वर्ल्ड्र नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए।

उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए।

‘शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो। पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ’, उनले भने, ‘नेपाल सरकारका तर्फबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो।’

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको बताए।

नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालयलगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजप्रति सम्मान व्यक्त गर्नैपर्छ’, उनले भने। 

उत्पीडितले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ

एक फरक प्रसङ्गमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताए। उनले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताए।

‘नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ । यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण भने छैन’, उनले भने।

नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न आफू र माओवादी केन्द्रले मुख्य सङ्घर्ष गरेको भन्दै उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने चिन्न जरूरी रहेको भनाइ व्यक्त गरे।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी दिनमा समग्ररुपमा नेपाली समाजको रुपान्तरणका निम्ति नेपालको भाषा संस्कृति तथा नेपाल भाषा र संस्कृतिको विकासका निम्ति अझ महत्वपूर्ण योगदान पुर्‍याउन सबैमा आग्रह गरे।

उनले नेवार समुदायबाट विकसित भएर राष्ट्र र नेपाल भाषा, संस्कृतिको विकासमा योगदान गर्ने सम्मानित व्यक्तित्वप्रति बधाई ज्ञापन गरे। 

प्रतिक्रिया

सम्बन्धित खवर