काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिरको जलहरीमा आफूले भ्रष्टाचार गरेको भन्ने सत्तापक्षका सांसद लेखनाथ दाहाललाई जड्याहाको संज्ञा दिएका छन्।
शुक्रबार पार्टी कार्यालय मुख्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पशुपतिनाथ मन्दिरको जलहरीमा ओलीले भ्रष्टाचार गर्यो भन्नु बकवासमात्रै भएको बताएका हुन्।
उनले माओवादी सांसदले आफूले भ्रष्टाचार गरेको भनेर आरोप लगाएपछि एमालेले संसद अवरुद्ध गरिरहेको पनि बताए। 'कोभिडको औषधिमा केपी ओलीले २ अर्ब खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भने र पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एक जना सांसदले बोलेका छन्।
आज त्यस विषयमा संसद अवरुद्ध छ। यस्तो बककास कुरा हुँदा संसद अवरुद्ध हुनैपर्छ,' उनले भने । अध्यक्ष ओलीले यस्तो बकवास कुरा एउटा जड्याहाले पनि जाड खाएको तालमा पनि नबोल्ने बताए। 'संसदको रोष्ट्रममा उभिएर बोल्दा माओवादीका सांसदले ओलीले भ्रष्टाचार गर्यो भनेर एमालेको बदनाम गर्न खोजिएको छ।
यो आधारहीन, असत्य र जनतालाई भ्रममा पार्ने कुरा हो,' ओलीले भने, 'संसदजस्तो थलोमा यस्तो वकवास कुरा एउटा जड्याहाले जाड खाएको तालमा पनि बोल्दैन।' उनले एमालेलाई बदनाम गर्न खोजिएको पनि बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation