काठमाडौं- नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको आरोप लगाएका छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताए।
उनले राज्यको सम्पत्ति कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन नसकेको टिप्पणी गरे। आफूहरुले संसद्मा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मेवार नभएको आफूहरुलाई महसुस भएको उनले बताए।
‘यो अवरोध सरकारले गरेको हो। सरकारलाई सोध्नुहोस्। हामीले मुद्दा उठायौँ। सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पती कति छ? सरकार सबै बेखबर। किनकी यो सरकार आफैँ चलिराखेको छैन’ उनले भने- ‘यो सरकार परनिर्भर छ। यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन । सदन छोडेर गइसक्नु भयो सरकार सदनप्रति जिम्मेवार छैन।’
आजको संसद्को प्रक्रिया सरकारले अवरुद्ध गरेको उनले आरोप लगाए। आफूहरुले विषय उठाएको कुरामा सम्बोधन गर्न सरकार तयार नभएपछि संसद अवरुद्ध भएको दाबी उनले गरे।
‘हामी फेरि पनि आग्रह गर्न चाहन्छौँ संसद् छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस्। हामीले उठाएको विषय देशलाई भनियोस्’ उनले भने ‘जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ। त्यो कुरा के हो सरकारले भनोस्। त्यसपछि संसदीय प्रक्रिया अगाडि बढ्छ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation