३२ असार २०८१, सोमबार

आईएसएफ यू-१५ मा सहभागी हुने नेपाली टोली ब्राजिल जाने

  • ३१ साउन २०८०, बुधबार
Image

काठमाडौं- अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस् फेडेरेसन (आईएसएफ) अन्डर-१५,  २०२३ मा सहभागिता जनाउन नेपाली खेलाडीहरु अगस्त १८ मा ब्राजिल प्रस्थान गर्ने भएको छ। 

नेपालले आईएसएफ यू-१५ जिम्‍नासियाडमा विभिन्‍न ५ खेलमा सहभागिता जनाउने भएको छ। अगस्ट १९ देखि २७ तारिखसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने जिम्नासियाडमा समावेश विभिन्‍न ३२ खेलमध्ये नेपालले ५ खेलमा सहभागिता जनाउन लागेको हो। नेपालले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबल टेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछ।

पौडीमा श्रयला महर्जन, आरुशा शाक्य र सुगम श्रेष्ठ सिन्याले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। 

टेबल टेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापति छन्। तेक्‍वान्दोमा उज्ज्वल वाग्ले, कृपन तामाङ र निश्चित कार्कीले प्रतिस्पर्धा गर्ने छन्। सम्यामी घिमिरे, आर्या पौड्याल, ओजस्वी श्रेष्ठ, उपमन्यु खन्डेल्वाल, सर्भाङ श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, सम्राज श्रेष्ठ र आसिप महर्जनले बास्केटबलमा भाग लिने छन्। बक्सिङमा शेरप गेल्चेन शेर्पा र प्रकृति थापा सहभागी हुनेछन्।

भीआईपी डेलिगेटमा प्रदीप जोशी, हेड अफ डेलिगेसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा सोविनराज रेग्मी, निर्णायकमा धनकुमार मैनाली र रोशन बोहरा, प्रशिक्षकमा सदीश प्रधान, प्रकाश थापा मगर, राधाबहादुर तामाङ, अञ्जना काफ्ले र शरद दर्शनधारी तथा अफिसियलमा नवीन महर्जन र राजेश राई  रहेका छन्। 

टोलीसँगै आईएसएफ टिसी तेक्वान्दोका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पनि टोलीसँगै ब्राजिल जाने छन्। चार दिनको अन्तरालमा फरक-फरक समयमा टोली ब्राजिल जाने कार्यक्रम रहेको   छ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य-सचिव टङ्कलाल घिसिङ, सदस्य द्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल सङ्घका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङलगायतले मंगलबार बिदाई गरे।

प्रतिक्रिया

सम्बन्धित खवर