२०८१ साउन २८ सोमबार
काठमाडौं- भूकम्प गएको झन्डै नौ महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन्। गत बर्ष कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको सल्यान दार्माका दुई हजार चार सय लाभग्राहीले अझै राहतको पहिलो किस्ता पाएका छैनन्। पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन्।
अस्थायी आवास निर्माणका लागि छानिएका चार हजार ८१ लाभग्राहीमध्ये हालसम्म एक हजार ६७४ घरधुरीले मात्र पहिलो किस्ता रकम पाएका दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए। संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाखमध्ये १६७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको र बाँकी अपुग रकम संघीय सरकारसँग माग गरिएको उनको भनाइ छ। ‘संघीय सरकारबाट निकासा रोकिँदा भूकम्पपीडितलाई पहिलो किस्ताबापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ,’ उनले भने।
भूकम्प प्रभावित चार हजार ७४ घरधुरीलाई स्थायी आवास निर्माणका लागि सर्वदलीय निर्णयमा प्राधिकरणमा सिफारिस गरिसकिएको पालिका अध्यक्ष केसीले बताए। लाभग्राहीमध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको उनले बताए।
आफूसँग भएको थोरै पैसाले अस्थायी आवास निर्माण गरे पनि हालसम्म कुनै रकम उपलब्ध नभएको दार्मा गाउँपालिका– ३ का भूकम्पपीडित डिल्लीबहादुर खत्रीले बताए। हावाहुरी लाग्दा, ठूलो पानी पर्दा समस्या छ,’ उनले भने, ‘अन्य समयमा भन्दा आजभोलि वर्षाको समयमा झनै गाह्रो भइरहेको छ। सरकारबाट आउने रकम पाए अलि गतिलो घर बनाउन हुन्थ्यो।’वर्षातको समयमा अस्थायी घरमा बस्दा धेरै समस्या भइरहेको उनको गुनासो छ। ‘जस्तापाताले बारेको घरमा बसिरहेका छौँ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation