८ जेठ २०८१, मङ्गलबार

संघ र प्रदेश चुनावका लागि कस्तो गठबन्धन बन्दैछ?

  • २९ जेठ २०७९, आइतबार
Image

काठमाडौं- स्थानीय तहको निर्वाचनको नतिजाको आन्तरिक समीक्षामा दलहरु रहेको समयमा आगामी संघ र प्रदेशको निर्वाचनमा बन्‍ने गठबन्धनको विषयमा पनि चर्चा हुन थालेको छ। स्थानीय निर्वाचनलाई प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बन्‍ने सम्भावित गठबन्धनको परीक्षणको रुपमा हेरिएकाले पनि यसबारे चर्चा हुन थालेको हो। 

नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका पाँच मन्त्रीहरुलाई प्रतिस्थापन गर्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले ब्रेक लगाइदिएपछि सत्ता गठबन्धनको साझेदार असन्तुष्ट बनेको छ। नेकपा एसका सम्मानित नेता झलनाथ खनालले शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै वाम एकताको आवश्यकता रहेको औंल्याउँदै स्थानीय निर्वाचनमा गठबन्धनले फाइदा नगरेको दाबी गरे। 

यद्पि पहिलो पटक निर्वाचनमा होमिएको नेकपा एसले एक महानगर, एक उपमहानगरसहित २० पालिकामा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने केपी  ओलीसहितको वाम एकताको कुनै सम्भावना नभएको दाबी गरिरहेका छन्। 

एमालेकै कतिपय नेताहरुले भने वाम एकता नगरे नेपालमा कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त हुनेसमेत बताएका छन्। 

अहिले मुलुक दुई राजनीतिक ध्रुवमा विभाजित भएको छ। एकातिर नेपाली कांग्रेस र अर्कोतर्फ नेकपा एमाले। शनिबार नै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय निर्वाचनमा वाम एकता नहोस् भन्‍नका लागि आफूहरुले पाँच दलीय गठबन्धन बनाएको बताएका थिए। 

अहिले पनि उत्तरतर्फको छिमेकीले वाम एकताका लागि आन्तरिक पहल नगरेको होइन। तर, नेताहरुको मपाइत्वले त्यसलाई सार्थक बनाउन निकै असहज भने देखिन्छ। उता केपी शर्मा ओली पनि माधव नेपालसहित एकता स्वीकार गर्न तयार छैनन्। शुक्रबार एक कार्यक्रममा ओलीले एकीकृत समाजवादीका नेतालाई एमालेमा फर्कन 'चान्स' नभएको बताए। ओलीले एमालेले वामपन्थीसँग अबको आम निर्वाचनमा पनि गठबन्धन नगर्ने जिकिर गरे।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भन्दै वाम एकताको बहसलाई सतहमा ल्याएका थिए। तर, ओलीले भने शुक्रबार प्रचण्ड-नेपालको अभिव्यक्तिको खण्डन गरिसकेका छन्।

वाम गठबन्धन गर्ने कि अहिलेकै गठबन्धनलाई निरन्तरता दिने भन्नेबारेमा भने एकीकृत समाजवादीभित्रै पनि दुई मत देखिएको छ। एकीकृत समाजवादीमा खनालको भनाइलाई लिएर नेताहरूले असन्तुष्टि जनाएका छन्। खनालले आफूले चुनावमा नजित्‍ने देखेपछि एमालेसँग पनि मिल्न सकिने अभिव्यक्ति दिएको भन्दै पार्टीभित्र खनालको आलोचना भइरहेको छ।

समाजवादीको औपचारिक बैठकमा भने अहिलेसम्म वाम एकताका बारेमा छलफल भएको छैन। अब बस्ने स्थायी कमिटीको बैठकमा चुनावी समीक्षा गरेर गठबन्धनबारे पनि छलफल हुने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।

अधिकांश नेताहरूले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताइरहँदा समाजवादीका केही नेताले भने काङ्ग्रेससँग मिलेर चुनावमा जानै नसकिने अनौपचारिक छलफलमा बताउने गरेका छन्। माओवादी केन्द्रमा पनि केही नेताहरूले वाम गठबन्धनका लागि 'लबिङ' गरिरहेका छन्। तर, अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा प्रचण्ड र नेपाल रहेको उनीहरू निकट नेताहरूको भनाई छ।

अबको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा स्थानीय तहकै जसरी गठबन्धन हुनसक्ने माओवादी केन्द्र नेता गणेश साहको भनाई छ। ‘कतै घोषित गठबन्धन हुन्छ कतै अघोषित गठबन्धन हुन्छ। प्रदेश तहमा पनि एमालेसँग पनि कतै घोषित त कतै अघोषित गठबन्धन हुनसक्छ,’उनले भने।

माओवादी केन्द्रकै नेता हरिबोल गजुरेलले पनि आउने चुनावमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताएका छन्। उनले हालसम्म पार्टीका बैठकहरूमा वाम गठबन्धनबारे औपचारिक रूपमा छलफल नभएको बताए। गठबन्धनभित्र प्रचण्डको कांग्रेस लक्षित भनाइलाई लिएर आलोचना भएको थियो। कांग्रेसलाई ठेगान लगाइदिने प्रचण्डको भनाइलाई समाजवादीका नेताले भने वाम एकताका लागि नभई गठबन्धनलाई उपयोग गर्ने नीतिअनुसार आएको बताएका छन्।

कांग्रेस सभापतिसमे रहेका प्रधानमन्त्री देउवाले सत्तामा रहेका पाँच दल बाहिरको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि संवाद अघि बढाइरहेका छन्। लोसपालाई सरकारमै सहभागी गराउन छलफल भएको भए पनि राजी भइसकेको छैन। प्रदेश र प्रतिनिधि सभाको चुनावमा वाम गठबन्धनका लागि कम्युनिस्ट नेताहरूले जोड गरेमा देउवाले पनि लोकतान्त्रिक गठबन्धनका लागि गृहकार्य गर्न सक्ने बताइन्छ। तर, गठबन्धनका नेताहरू अहिले नै सत्तारुढ दलहरुबीचको सहकार्य नटुङ्गिने दाबी गरिरहेका छन्। वाम गठबन्धनका लागि ओलीले चाल्ने 'मुभ'मा पनि धेरै कुरा निर्भर हुने नेताहरूको भनाई छ।


प्रतिक्रिया

सम्बन्धित खवर