३ जेठ २०८१, बिहिबार

भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाए : माधव नेपाल

  • १३ असोज २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेको बताएका छन्। बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन्।

‘अहिले पनि समाज र राजनीतिमा चरम भ्रष्टाचारी प्रवृति छ। नेताहरुले विश्वास गुमाउँदै गएका छन्। हामी अरुजस्तो होइनौ भन्ने देखाउन सक्नुपर्छ’, अध्यक्ष नेपालले भने।

अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने उनको भनाइ थियो। ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृति देखिएको छ। यी सबै चिजबाट होसियार हुनुपर्छ’, नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने। 

 ‘आफुले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने, पटक पटक पाए ठीक, अरुले एकचोटी पाउँदा सकारात्मक नलिने हाम्रो समाजमा रोग छ’, अध्यक्ष नेपालले भने। उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको बताए। उनले अहिलेको उद्देश्य नै समाजवाद ल्याउने उदेश्य भएको पनि बताए।

‘हाम्रो मुख्य उदेश्य नै समाजवादको उदेश्य हो । सबै खालका भेदभाव, अन्याय अत्याचार, हिंसा र अपमान अन्त्य गर्ने हो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने-‘त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ।’ उनले कार्यकर्ताहरूलाई कहिल्यै निरास नहुन आशावादी हुन आग्रह गर्दै सकारात्मक सोच राखिए समाज र देशलाई राम्रो दिशामा लैजान सकिने दाबी गरे।  

प्रतिक्रिया

सम्बन्धित खवर