३२ असार २०८१, सोमबार

युरो २०२४ : कुन-कुन टिम पुगे सेमिफाइनलमा

  • २४ असार २०८१, आइतबार
Image

काठमाडौं- जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ।

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो।

तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन्।

अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ।

नेदरल्याण्ड्सले टर्कीविरुद्ध २-१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश गरेको हो।

त्यसअघि स्पेनले आयोजक जर्मनीको चुनौती समाप्त गरेको थियो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टीसुटआउटमै हराएको थियो।

जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको स्पेन चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ। स्पेनले १९६४, २००८ र २०१२ मा युरो जितेको थियो। फ्रान्सले भने १९८४ र २००० मा उपाधि जितेको थियो।

स्पेन र इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेका हुन्। २०२१ को युरोमा स्पन सेमिफाइनलमा इटलीसँग पराजित भएको थियो भने इंग्ल्याण्ड फाइनलसम्म पुगेको थियो। तर पेनाल्टीसुटआउटमा इंग्ल्याण्ड इटलीसँग पराजित भएको थियो।

फ्रान्स भने २०१६ पछि सेमिफाइनलमा पुगेको हो। त्यसबेला फ्रान्स घरेलु मैदानमै फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो।

नेदरल्याण्ड्स भने २० वर्षपछि युरोको सेमिफाइनलमा पुगेको हो। सन् २००४ मा सेमिफाइनल खेलेको नेदरल्याण्ड्स पोर्चुगलसँग पराजित भएको थियो। सन् १९८८ मा युरो जितेको नेदरल्याण्ड्स ३६ वर्षपछि युरो उपाधि जित्ने लक्ष्यमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर