१६ वैशाख २०८१, आइतबार

एमालेको सभामा भीम रावल खोज्नेलाई ओलीको जवाफ- माया लागेको भए अछाम जानुस्

  • २७ कार्तिक २०७९, आइतबार
Image

काठमाडौं- एमालेको चुनावी सभाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा पुनः भीम रावलको ‘माग’ बढेको छ। आइतबार दैलेखमा ओलीले बोलिरहँदा दर्शकदिर्घाबाट रावलको नाम आएपछि ओलीले जवाफ पनि फर्काए।

ओली बोलिरहँदा ‘भीम रावल...’ भन्ने आवाज आएपछि ओली केही आक्रोशित हुँदै जवाफ दिन्छन्- ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लागेको भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’

कात्तिक १८ गते ओलीले कञ्चनपुरको सभामा सम्बोधन गर्दा पनि रावलको माग भएपछि उनले रिसाउँदै जवाफ फर्काएका थिए।  केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिएका थिए–‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्‍यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। स्वयं रावलले पनि ओलीको आलोचना गर्ने गरेका छन्। यद्यपि, ओलीले यसअघि पनि रावलले ०४८ सालदेखि खाइरहेको बताएका थिए।

रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। ओली भने ०४८ देखि नै सांसद छन्। उनी ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए। कञ्चनपुरै सभामा ओली बोलिरहँदा दर्शकदीर्घाबाट ’एमसीसी’ भन्दै उनको लय बिगारिदिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर