३१ वैशाख २०८१, सोमबार

बागमती प्रदेशको बजेट बहुमतले पारित

  • २१ असार २०८०, बिहिबार
Image

काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट बिहीबार प्रदेशसभा बैठकबाट बहुमतले पारित गरिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी दल राप्रपाको सुरुवाती अवरोधका बाबजुद बागमतीको बजेट बहुमतले पारित भएको हो। १ असारमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। १२ असारदेखि बजेटमाथिको छलफल थालेको सरकारले सुरुवाती ३ दिनसम्मको बैठकमा प्रतिपक्षी दलको अवरोध भोगेको थियो।

विपक्षीका योजना बजेटमा समेट्ने प्रतिबद्धतापछि १८ असारबाट बजेटमा छलफल सुरु भएको थियो। आज बिहीबारसम्म ५३ जना सांसदहरूले बजेटमाथि आफ्नो धारणा राखेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन्।

सांसदहरूको प्रश्नको जवाफ बिहीबार मुख्यमन्त्री जम्कट्टेल र मन्त्रीहरूले दिएका थिए। जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बजेटमाथि असन्तुष्टि राखेका थिए। उनले शान्ति पार्कका लागि पठाइएको सूची बजेटमा नसमेटिएको दुःखेसो राखे।

सत्ता पक्षका सांसदहरूले पनि बजेटमाथि असन्तुष्टि पोखेका थिए। मुख्यमन्त्री जम्कट्टेलले देशकै आर्थिक गतिविधि प्रतिकूल बन्दा बजेट खुम्चिन गएकोले सबैको योजना समेट्न नसकेको जानकारी गराएका थिए।

प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री, आर्थिकमन्त्री र भौतिकमन्त्रीको जिल्लामा बजेट थुपारेको, बजेटलाई जनमुखी नबनाइएको, प्रतिपक्ष दलहरूलाई निषेध गरिएको, जिल्लागत रुपमा समानुपातिक ढंगबाट बजेट विनियोजन नगरेकोलगायतका विषय उठाएर सदन अवरुद्ध गरेका थिए।

विपक्षी दलको योजना बजेटमा समेट्ने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नै निर्णय गरिसकेको छ।प्रदेशसभामा बजेट संशोधनको माग गर्दै ९ जना प्रदेशसभा सदस्यहरूले प्रस्ताव दर्ता गराएका थिए।

संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै सभामुख भुवनकुमार पाठकले बजेट पारित भएको जानकारी गराए। पाठकले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर