१७ वैशाख २०८१, सोमबार

नरैनापुरमा फेरिएको चुनावी प्रतिबद्धता

  • २० वैशाख २०७९, मङ्गलबार
Image

राँझा।  बाँकेको नरैनापुरमा पाँच वर्षअघि स्थानीय तह निर्वाचनमा राजनीतिक दलको पहिलो प्रतिबद्धता सडक र बिजुलीबत्ती थियो । तर परिस्थिति बदलिएसँगै अहिले दलको प्रतिबद्धता पनि फेरिएको छ । 

विगत दुई दशकदेखि सडक र विद्युत् नरैनापुरको चुनावी नारा र प्रतिबद्धता बन्दै आएकोमा अहिले फेरिएको हो । सडक र बत्ती पुगेपछि अब नरैनापुरमा फुसको छाना हटाउने प्रतिबद्धताले प्राथमिकता पाएको छ । यतिबेला नरैनापुरमा राजनीतिक दलले फुसको छाना हटाउने प्रतिबद्धता लिएर भोट मागिरहेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो ।

“बाटो बनिसकेको छ, बिजुली पनि आइसकेको छ, त्यसैले अब फुसको छाना हटाउने विषय चुनावी नारा बनेको छ”, उहाँले भन्नुभयो । प्रत्येक वर्ष गर्मीयामसँगै नरैनापुरमा आगलागीका घटना हुने गरेका छन् । एक अर्कोमा जोडिएर बनाइएका फुसको छानाका घरमा एउटामा सल्किनासाथ बस्तीनै सखाप हुने गरेको छ । 

एक महीनाअघि गत चैत २१ मा नरैनापुर गाउँपालिका–४ कृष्णनगरमा  आगलागी हुँदा १६ घर र एक गोठ जलेर नष्ट भएको थियो । फुसका घर हुने भएकाले हरेक वर्ष गर्मी सिजनमा आगलागीको समस्या हुने गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा गङ्गापुरका सभापति शालिकराम साहु तेलीले बताउनुभयो ।

फुसको छाना हटाउनसके आगलागीको समस्या समाधान हुने उहाँको भनाइ छ । नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताउनुभयो । वर्षेनि आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था रहेकाले आफूहरु निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा राखेको उहाँको भनाइ छ । 

गाउँपालिकाको प्रमुख समस्याका रुपमा रहेको आगलागी समस्या समाधानका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिने नेकपा एमालेबाट अध्यक्ष पदकी उम्मेदवार पद्मावती यादवले बताउनुभयो । उहाँले नरैनापुरमा मुख्य सडक र विद्युत्को लाइन पुगेपनि त्यसलाई व्यवस्थित गर्दै गाउँबस्तीमा पु¥याउने, शिक्षा, स्वास्थ्य र खानेपानीका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

नरैनापुर गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’ पनि भन्ने गरिन्छ । पालिकाको केही भाग राप्ती नदीको डुवानमा पर्ने गर्दछ । वर्षौदेखिको सडक र विद्युत्को योजना डेढवर्ष अघि कोभिड महामारीकै बीचमा पूरा भएको थियो । अव नरैनापुर गाउँपालिकाको प्रमुख समस्या आगलागी रहेको छ । फुसका घर धेरै रहेकाले वर्सेनि ठूलाठूला आगलागी हुने गर्दछन्¬ । जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्मद इस्तियाक अहमद शाह र कांग्रेसबाट रामचन्द्र मौर्यले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा नरैनापुरमा जसपाका शाहले चुनाव जित्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर